रङ्गपुरका बासिन्दाको बत्ती बाल्ने अभियान सुरु

इनेप्लिज २०७२ साउन १६ गते ४:२८ मा प्रकाशित

light5रौतहट, १६ साउन । स्थानीय रङ्गपुर गाविसका बासिन्दाले चन्दा सङ्कलन गरेर गाउँमा बत्ती बाल्ने अभियान सुरु गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण रौतहटले सो क्षेत्रमा विद्युतीकरण गर्न बेवास्ता गरेपछि स्थानीय बासिन्दाले प्रतिघरधुरी रु तीन हजारका दरले रकम सङ्कलन गरी सो अभियान सुरु गरेका हुन् ।

स्थानीयस्तरका लालीगुराँस युवा समूहको सक्रियतामा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म रु १४ लाख सङ्कलन भइसकेको छ ।

रङ्गपुर गाविस– ५ अन्तर्गतका विभिन्न गाउँमा विद्युतीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले रौतहट क्षेत्र नं ५ का सभासद् जीतेन्द्र यादव सुनिलले संसदीय विकास कोषबाट रु २० लाख प्रदान गर्नुभएको छ भने रङ्गपुर गाविसले रु चार लाख प्रदान गरिसकेको छ ।

रौतहटका अधिकांश गाविसमा विद्युतीकरण भइसके तापनि रङ्गपुर क्षेत्रका कतिपय वडाका बासिन्दा पोल गाडेको वर्षौं बितिसक्दा पनि टुकी र सौर्य बत्तीको भर पर्र्ने बाध्यता थिए ।

गाउँमा विद्युतीकरणको काम भइरहे तापनि तत्कालका लागि विद्युत् प्राधिकरणमा मिटरको अभाव रहेका कारण बत्ती बाल्न नपाएको स्थानीय युवा सुनिल पौडेलले बताउनुभयो ।

प्रतिक्रिया