बजेट कार्यान्वयन वर्ष सफल पार्न जोड

इनेप्लिज २०७२ साउन १५ गते १४:४३ मा प्रकाशित

ramsaran-mahatकाठमाडौँ, १५ साउन । अर्थमन्त्री डा रामशरण महतले तदारुकताका साथ विकास खर्च वृद्धि गरी बजेट कार्यान्वयन वर्ष सफल पार्न सबै मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा एकत्रित हुनुभएका सबै मन्त्रालयका सचिवलाई आज निर्देशन दिँदै अर्थमन्त्रीले “सार्वजनिक खरिदसम्बन्धी ऐन यसै अधिवेशनबाट पारित हुनेछ, अब काम गर्नका लागि कसैले पनि कुनै बहानाबाजी गर्न पाउने छैन” भन्नुभयो । अर्थ मन्त्रालयले यही साउन १ गते नै सबै मन्त्रालयमा खर्चको अख्तियारी दिइसकेको स्मरण पनि मन्त्री डा महतले गराउनुभयो ।

उहाँले कार्यक्रमको प्राथमिकीकरण, प्रारुप तयारी, कार्यविधि निर्माणमा सम्बन्धित निकायलाई अधिकार दिइएको स्पष्ट गर्दै उहाँले गत आवको बजेटमा उल्लेख भएका आर्थिक सुधारसँग सम्बन्धित विधेयक व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको र अब आर्थिक सुधारका कार्यक्रमलाई शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा पुगेकामा चिन्ता व्यक्त गर्दै अर्थमन्त्रीले स्वदेशका उद्योगका समस्या समाधान गरी निर्यात बढाउन केन्द्रीय बैंकका तर्फबाट ल्याउनुपर्ने प्रोत्साहनमूलक कार्यक्रम पनि चाँडो सार्वजनिक हुनुपर्ने औँल्याउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थागत क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिँदै इमान्दारीका साथ आफूलाई प्राप्त जिम्मेवारी निर्वाह गर्न सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो ।

अर्थसचिव सुमनप्रसाद शर्माले पुनःनिर्माण प्राधिकरण गठनका काम चाँडो हुनुपर्ने बताउँदै विकास निर्माणका काम पूरा हुनेबित्तिकै भुक्तानी दिइने व्यवस्था गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया