पहिरोले अवरुद्ध सडक खुलाउन बिहानदेखि प्रयास जारी

इनेप्लिज २०७२ साउन १५ गते ४:१४ मा प्रकाशित

फलेवास (पर्वत), १५ साउन । बुधबार रातिदेखि अवरुद्ध बनेको पोखरा–बागलुङ सडक खुलाउन बिहानदेखि प्रयास भइरहेको छ ।

पहिरोका कारण सबैभन्दा बढी क्षति पुगेको पर्वतको तिलहार गाउँ विकास समिति–९ बेतनी र अँधेरी खोलामा वैकल्पिक सडक बनाई आज साँझसम्म सडक सञ्चालन गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

बेतनी र अँधेरी खोलामा गएको पहिरोले बेतनीमा झन्डै ४० मिटर र अँधेरी खोलामा ६० मिटर जति सडक बगाएको छ । सडक बगाएको स्थानमा सडक विभाग बागलुङबाट दुईवटा डोजर र निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत् आयोजनाका डोजरमार्फत पहिरो हटाउने तथा वैकल्पिक सडक बनाउने काम सुरु भएको छ ।

पहिरोले कल्भर्ट बगाएको स्थानमा ह्युम पाइप राखेर अस्थायी रुपमा सडक खुलाउने प्रयास भइरहेको डिभिजन प्रमुख राजेश पौडेलले बताउनुभयो । “मालढुङ्गादेखि अन्य ठाउँमा अवरुद्ध भएको सडक खुलाउन बिहानदेखि काम भएको र अबको ध्यान सबै बेतनी र अँधेरी खोलामा केन्द्रित हुन्छ”, उहाँले भन्नुभयो । बिहानदेखि सडक डिभिजन कार्यालय बागलुङको डोजर, सुरक्षाकर्मी र अन्य श्रमिक सडक खुलाउनका लागि परिचालन गरिएको छ ।

सडक अवरुद्ध भएपछि धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि छुटेका सवारीसाधन नयाँपुल र धौलागिरिबाट छुटेका सवारीसाधन पर्वतको डिमुवामा रोकिएका छन् । सडक बगेका कारण वैकल्पिक सडक बनाउनसमेत कठिन भएकाले पैदल यात्रीसमेत रोकिएका छन् ।

पहिरोले नदीको तटबन्ध बगाएपछि पर्वतको आम्बोट बजारका घर खतरामा परेको छ । आम्बोट खोलाले तटबन्ध बगाएपछि आधा दर्जन घर जोखिममा परेको र आफूहरुले घर छाडेको होटल व्यवसायी नवराज पौडेलले बताउनुभयो । देउपुर गाविसमा बलबहादुर क्षेत्रीको घर बगाएको छ भने पातीखोला, रतीखोला, जहरेखोलाले सयौँ हेक्टर खेत बगाएको छ ।

प्रतिक्रिया