शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाटेबाघको सङ्ख्या बढ्यो

इनेप्लिज २०७२ साउन १४ गते २:२४ मा प्रकाशित

NepalTiger-300x225कञ्चनपुर, १४ साउन । विश्वमै दुलर्भ प्रजातिको सूचीमा पर्ने पाटेबाघको सङ्ख्या शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बढेर १५ पुगेको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा वन व्यवस्थापन र आहाराको पर्याप्तताले आरक्षमा संरक्षित पाटेबाघको सङ्ख्या बढेको हो । एक दशकअघि घट्दै गएको बाघको सङ्ख्या पुनः पुरानै स्थितिमा फर्कन थालेको छ । गएको पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेको पाटेबाघको सङ्ख्या बढेर यस वर्ष बढेर १५ पुगेको हो ।

चोरी–सिकारी नियन्त्रणका लागि प्रतिरोध इकाई गठन, परिचालन, पाटेबाघको प्रशस्त आहारा र बस्नका लागि उपयुक्त ठाउँको व्यवस्था गरिएपछि आरक्षमा बाघको सङ्ख्या पछिल्लो केही वर्षयता देखि बढेको पाएको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।

आरक्ष वरपरका क्षेत्रमा पाटेबाघको बासस्थानका रुपमा रहेको घना पतझर जङ्गल, सदाबहार वन, घाँसे मैदान, सालको वन, तुन्द्रा वन र उष्ण प्रदेशीय खुल्ला वनले गर्दा बाघ संरक्षणमा टेवा पुगेको छ । आरक्ष क्षेत्रमा पाटेबाघले मन पराउने आहारा मृग, बँदेल, गौर र नीलगाईको सङ्ख्या प्रशस्त रुपमा रहेकाले फस्टाउने मौका पाएको अधिकृत ढकालको भनाइ छ ।

पाटेबाघले आहारा र डमरु हुर्काउनका लागि निकै ठूलो वन क्षेत्रको उपयोग गर्ने भएकाले आरक्षको शुक्लाफाँट, आरक्षनजिक पर्ने लालझाडी क्षेत्र, आरक्षसँग जोडिएको चुरे क्षेत्र हुँदै महाभारत पर्वत शृङ्खलाको तल्लो भागसम्म बाघले आवतजावत गर्ने जैविक मार्गका रुपमा प्रयोग गर्दै आएकाले बाघको सङ्ख्या बढ्दो रुपमा रहेको छ ।

कार्यालयले सन् १९७४ देखि शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाघ संरक्षणको कार्य गरिँदै आएको छ । बाघ गणनाको कार्य भने सन् १९९९ देखि निरन्तर रुपमा प्रतिवर्ष हुँदै आएको छ । आरक्षको ३०५ वर्गकिलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रुपमा रहेको छ ।

प्रतिक्रिया