दाताबाट राहतमा प्राप्त प्याकिङ दूध उपयोगविहीन

इनेप्लिज २०७२ साउन १३ गते १४:२६ मा प्रकाशित

धुन्चे (रसुवा), १३ साउन । भूकम्पपछि विभिन्न दाताबाट राहत स्वरुप प्राप्त प्याकिङ दूध उपभोगविहीन भएको छ ।

राहत सङ्कलन व्यवस्थापन तथा वितरण व्यवस्थापन समितिका सहसंयोजक एवम् जिविस रसुवाका योजना तथा प्रशासकीय अधिकृत भीमकान्त पौडेलका अनुसार भूकम्पपछि विभिन्न दाता संस्थाबाट प्राप्त करिब १५० कार्टुन विभिन्न ब्रान्डका दूध जिल्ला स्वास्थ्य कार्यालयले बालबच्चामाझ वितरण गर्न नमिल्ने बताएपछि प्राप्त सबै दूध गोदाममा मौज्दात राख्नुपरेको र कसरी उपभोगमा ल्याउने भन्ने अन्योल भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाले भने स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाको निर्देशनमा प्रकोप समितिलाई सुझाव दिएका कारण भण्डारण मौज्दात रहेको बताइएको छ ।

स्वास्थ्य कार्यालयका प्रवक्ता नारायणप्रसाद पौडेलले वृद्धवृद्धाले उपभोग गर्न मिल्ने भएपनि वृद्धले उपभोग गर्दा बच्चालाई टुलुटुलु हेराएर खान नसकिने र वितरण गर्नासाथ बालबच्चामा पुग्ने भएकाले उपभोगमा ल्याउन बृहत् छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया