सार्वभौमसत्तामाथिको चलखेल बन्द गरौँ:सांसद

इनेप्लिज २०७२ साउन १२ गते १५:४३ मा प्रकाशित

काठमाडौँ, १२ साउन । सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद्को आजको बैठकको कारबाही प्रारम्भसँगै सांसदहरुले उठाउँदै आउनुभएका सार्वभौमसत्तामाथिको चलखेल, राजनीतिक खिचलो अन्त्य, धार्मिक सहिष्णुता कायम राख्न तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था कायम राख्नुपर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामअयोध्याप्रसाद यादवले तराईका विभिन्न जिल्लालाई सुक्खा क्षेत्रको घोषणा गर्न माग गर्दै किसानलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद प्रकाश ज्वालाले धर्मका नाममा कसैले पनि राष्ट्र टुक्राउने अभिव्यक्ति दिन नमिल्ने बताउनभुयो ।

सांसद रामनारायण बिँडारीले भूकम्पपीडितको पुनःस्थापनाका लागि सरकारले चासो नदेखाएको आरोप लगाउनुभयो ।

सांसद रामकुमार सुब्बाले पूर्वाञ्चलको इटहरी चोकमा प्रहरीले जनतालाई निर्ममतापूर्वक दिएको यातनाका सम्बन्धमा सत्य तथ्य बुझी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद अशोक राईले झापाको लखनपुरस्थित रङ्गाशालाको नाम मेटाएर सरकारले मदन भण्डारी रङ्गशाला नामाकरण गरेकामा खेद प्रकट गर्नुभयो ।

त्यस्तै सांसद रामहरि सुवेदी, रामहरि खतिवडा, तुलसा राणा, हरिचरण साह, डिम्पल कुमारी झा र लोकमणि ढकाललगायतले विभिन्न जातजाति, धर्म सम्प्रदायका नाममा कोही कसैले कोही कसैमाथि आरोप प्रत्यारोप लगाउन नहुने बताउनुभयो ।

प्रतिक्रिया