सबैभन्दा बढी सुझाव बर्दियाबाट, कम मुस्ताङबाट

इनेप्लिज २०७२ साउन १२ गते १५:३२ मा प्रकाशित

काठमाडौँ, १२ साउन । संविधानसभा, जनमत सङ्कलन तथा संविधान सुझाव समितिमा एक लाख ५३ हजार १९३ सुझाव प्राप्त भएका छन् ।

यही साउन ४ र ५ गते देशव्यापी रुपमा गरिएको सुझाव सङ्कलनका क्रममा ५३ हजार महिला र एक लाख ३१ हजार ५७३ पुरुषले प्रत्यक्ष रुपमा ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’ माथि आफ्नो राय, सुझाव दिएका थिए । यस्तै तेस्रो लिङ्गीका तर्फबाट एक मात्र सुझाव प्राप्त भएको छ ।

समितिमा विद्युतीय माध्यमबाट ३३ हजार ७५३ सुझाव प्राप्त भएको थियो । त्यसमा बेबसाइटबाट २० हजार ७२२, इमेलबाट आठ हजार ८००, निःशुल्क टेलिफोन नम्बरबाट दुई हजार ४७१, फ्याक्सबाट एक हजार १४४ सुझाव प्राप्त भएको थियो । विभिन्न नागरिक सङ्घ तथा संस्थाले प्रत्यक्ष रुपमा नै संविधानसभा सचिवालयमा पुगेर ६१६ वटा सुझाव प्राप्त भएको थियो ।

समितिका अनुसार सबैभन्दा बढी सुझाव बर्दियाबाट २८ हजार ८८० र कैलालीबाट १२ हजार र काठमाडौँबाट छ हजार ६१९ सुझाव प्राप्त भएको छ । यस्तै सबैभन्दा कम सुझाव मुस्ताङ जिल्लाबाट केबल ९६ वटा मात्र सुझाव प्राप्त भएको छ । मनाङबाट भने ११८ सुझाव प्राप्त भएको छ ।

यस्तै रुपन्देहीबाट तीन हजार ७००, कपिलवस्तुबाट तीन हजार ८००, मोरङबाट तीन हजार ३१०, सुनसरीबाट चार हजार २८७ सुझाव प्राप्त भएको समितिका सभापति प्रमीला राणाले जानकारी दिनुभयो ।

प्रतिक्रिया