शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ०१:२८
वासिङटन डिसी 15:43

महँगीले उपल्लो मुस्ताङी ढिके नुनकै भरमा

इनेप्लिज २०७२ साउन १२ गते ४:३४ मा प्रकाशित

salt_nun_dhikeमुस्ताङ, १२ साउन । उपल्लो मुस्ताङका सर्वसाधारण चर्को मूल्यका कारण अझै ढिके नुन खाएर जीविका चलाउँदै आएका छन् । आयोडिनयुक्त धुलो नुन अत्यधिक महँगो हुनुका साथै पर्याप्त मात्रामा नपाइने हुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र छुसाङ गाविसका करिब चार हजार सर्वसाधारणले वर्षौंदेखि ढिके नुनकै भरमा जीविका चलाउँदै आएका हुन् ।

यी गाविसमा जिल्ला सदरमुकाम जोमसोमबाट प्याकेटमा पाइने आयोडिन नुन पुर्‍याउन सकिएको छैन । स्थानीय केही व्यापारीले मुस्किलले पुर्‍याए पनि प्रतिप्याकेट रु ६० पर्छ । त्यो सदरमुकाम जोमसोममा पाइनेभन्दा तेब्बरले महँगो हो ।

आयोडिन नुन महँगो पर्नु र नियमित नहुँदा ढिके नुनले जीविका चलाउँदै आएको चर्राङकी पेमा खान्डोले बताउनुभयो । “चाइनाबाट यस क्षेत्रमा निःशुल्क ढिके नुन आउँछ, त्यसैले पनि यहाँका सर्वसाधारणले आयोडिन नुनमा ध्यान नदिएका हुन्, उहाँले भन्नुभयो “आयोडिन नुन देख्दासमेत अनौठो मान्छन् ।” वर्षको दुईपटक उपल्लो मुस्ताङी र चिनियाँ व्यापारीबीच आयोजना गरिने व्यापार मेलामा चीन सरकारले सीमा आसपासका सर्वसाधारणका लागि भन्दै छ गाविसलाई प्रतिघर आठ पाथीका दरले निःशुल्क ढिके नुन वितरण गर्छ । “वर्षको १६ पाथी निःशुल्क ढिके नुन पाइने भएपछि खोजीखोजी आयोडिन नुन खाने कुरै भएन्, लोमान्थाङकी टासी टुस्टेनले भन्नुभयो “एक पटक लिएर राख्यौँ भने छ महिनालाई ढुक्क हुन्छ ।”

उहाँका अनुसार, केही होटलमा आयोडिन नुन प्रयोग गर्ने गरिए पनि त्यो एकदमै कम छ । राष्ट्रिय जनगणना २०६८ अनुसार, चराङमा १३२, छोण्हुपमा २०२, छोसेरमा १५८, छुसाङमा १६८, घमीमा १६९ र लोमान्थाङमा १७२ घरधुरीमा तीन हजार ४७४ जनसङ्ख्या छ । “यहाँका स्थानीयले त ढिके नुन खाएर जीविका चलाएका छन्, केही सरकारी कर्मचारीले तलबाट बोकेर ल्याएर खाए मात्र हो, नत्र उनीहरुको पनि विकल्प छैन्” टासीले भन्नुभयो ।

प्रतिक्रिया