पथरी (मोरङ), १२ साउन । वृद्धाश्रम बस्दैमा कोही गरिब र कोही दुःखी हुँदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धा । यी वृद्धवृद्धा कोही आफन्तले स्याहारसुसार नगरेपछि आफैँ आइपुगे, कतिपयलाई आफ्नै छोराबुहारीले बूढेसकाल लागेपछि यहाँ ल्याएर छाडिदिए ।
यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्, अतीत भुलेर नयाँ जिन्दगी सुरू गरेका छन् । विराटनगर–१३ मलायारोडस्थित विराटेश्वर वृद्धाश्रममा २५ वृद्धा बस्दै आएका छन् । उनीहरूको आ–आफ्नै पीडा र कथा छन् ।
कहालीलाग्दो पीडा छ । हुन त आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन्छन् र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, त्यै पनि उनीहरू आश्रममा बस्न बाध्य छन् ।
त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्ला सिक्तेल–५ हो । उहाँका पाँच छोरा र एक छोरी छन् । तर भएर पनि नभए जतिकै छ । उहाँ भन्नुहुन्छ, “श्रीमान्को मृत्यु भएको सात वर्ष भयो । सबै छोराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनतिर लागेपछि म यहाँ आइपुगेँ, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान् हुँदा रहेछन् ।”
उनसत्तरी वर्षीया सिंघामाया तामाङ पाठेघरको शल्यक्रियापछि विभिन्न समस्यामा हुनुहुन्छ । आमा बन्न नसक्ने भएका कारण धेरै पीडित हुनुभयो । श्रीमान्को मृत्युपछि आफन्तले दुःख दिन थाले । कतै केही नलागेपछि वृद्धाश्रमको साहरा लिन पुगेको गुनासो गर्नुहुन्छ ।
श्रीमान् ३५ वर्षको उमेरमा लागुपदार्थ सेवनको कारण बित्नुभयो । श्रीमान् बितेपछि उहाँ बेसहारा हुनुभयो । उहाँले आफन्तलाई सहयोग पनि गर्नुभयो । तर आफूलाई पर्दा साथ दिने कोही नभएकोमा उहाँ साह्रै दुःखी हुनुहन्छ ।
सुनसरी छिटाहा गाविसकी भकुमारी थापामगर शारीरिक रुपमा कुरुप देखिनुहुन्छ । उहाँ जन्मँदै यस्तै हुनुहुन्थ्यो । भकुमारी कान सुन्नुहुन्छ, बोल्न भने सक्नु हुन्न । तीन वर्षअघि विराटेश्वर वृद्धाश्रम आइपुग्दा यस्तै हुनुहुन्थ्यो ।
शारीरिक अवस्था यस्तो भए पनि उहाँजति जाँगरिलो यो आश्रममा कोही छैनन् । राति ३ बजे उठेर नुहाउनुहुन्छ । आश्रम वरपर सफासुग्घर गर्नुहुन्छ । “उहाँलाई यस्तो अवस्थामा उहाँकै आफन्तले ल्याइदिए” आश्रमका अध्यक्ष जगत अर्यालले भन्नुहुन्छ, काम लाग्न छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन्, “आफन्त भन्ने त काम गरुन्जेल मात्र हुँदारहेछन् ।”
प्रतिक्रिया