बालेश्वरको अस्तित्व सङ्कटमा

इनेप्लिज २०७२ साउन १२ गते ४:२५ मा प्रकाशित

दैलेख, १२ साउन ।प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका पिता बालनरसिंह कुँवरको समाधि रहेको बालेश्वर मन्दिरको अस्तित्व सङ्कटमा परेको छ ।

वडलम्जी–९ स्थित ऐतिहासिक बालेश्वर मन्दिर चट्याङले चर्केको र संरक्षण तथा प्रचारप्रसार नहुँदा सङ्कटमा परेको हो । संरक्षण नहुँदा मन्दिरका भित्ता भत्किनुका साथै पानी चुहिएर मूर्ति खिया लागेका बेला चट्याङले मन्दिर चर्किएको छ ।

कुँवर घुम्दै यहाँ आउनु भएका बेला उहाँले यस ठाउँ मन पराएपछि उहाँकै चाहनाका कारण समाधि राख्न काठमाडौँबाट मलामी आएको इतिहासमा उल्लेख छ । बालनरसिंहको समाधि रहेकाले यसको नाम बालेश्वर रहन गएको स्थानीय शिक्षक भक्तिप्रसाद उपाध्यायले बताउनुभयो । ढोका र तारबार बलियो नहुँदा मन्दिरभित्र राखिएका मूल्यवान मूर्ति चोरी भइसकेको पुजारी मणिराम उपाध्यायले बताउनुभयो ।

चार वर्ष अघि राति बाबाको भेषमा बास खोज्दै आएकाले तामाबाट बनेका बाघ र शिवका मूर्ति चोरेर लगेको उपाध्यायले बताउनुभयो । “भोलिपल्ट उज्यालो नहुदै मूर्ति लिएर भागिसकेछ” पुजारीले भन्नुभयो । बडादसैँ र चैते अष्टमीको बेला यहाँ विशेष पूजाआजा हुन्छ ।

मूर्ति जति सबै चोरिनु र संरक्षण नपाउनुले ऐतिहासिक बालेश्वर मन्दिरको अस्तित्व सङ्कटमा परेको स्थानीयले गुनासो गरेका छन् । सरकारले पर्यटकीय सम्पदाको संरक्षणमा चासो नदिएकै कारण समग्र दुल्लु क्षेत्रको अस्तित्व ओझेलमा परेको दुल्लु क्षेत्रको ऐतिहासिक सम्पदाको संरक्षणमा काम गर्दै आएका घनश्याम भण्डारीले बताउनुभयो । “धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण यहाँका सम्पदा संरक्षण नहुँदा सङ्कटमा पुगेका छन् ।” भण्डारीले भन्नुभयो “तर संरक्षण नहुँदा हाम्रा सम्पदा नासिँदै र चोरिँदै गएका छन् ।”

प्रतिक्रिया