प्रधानमन्त्रीद्वारा आतङ्ककारी हमलाको निन्दा

इनेप्लिज २०७२ साउन १२ गते ४:०४ मा प्रकाशित

sushil koirala_20140503090322काठमाडौँ, १२ साउन । प्रधानमन्त्री सुशील कोइरालाले भारतको पञ्जाब राज्यको गुरदासपुरको प्रहरी चौकी र सार्वजनिक बसमा भएको आतङ्ककारी हमलाको घोर निन्दा गर्नुभएको छ ।

पाँच जना प्रहरी र तीन जना सर्वसाधारणको हत्या भएको सोमबार बिहान भएको सो घटनापछि मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक सन्देश पठाइ उहाँले यस कायरतापूर्ण र अमानवीय आक्रमणको विरोध गर्दै दुःखको यस घडीमा नेपाल सरकार र नेपाली जनता भारतको साथमा रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले यस आक्रमणमा परी जीवन गुमाउनु भएका प्रहरी सुरक्षाकर्मी र सर्वसाधारणका आफन्त र स्वजनसहित भारतीय जनताप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना पनि प्रकट गर्नुभएको छ ।

साथै प्रधानमन्त्री कोइरालाले आतङ्कवाद शान्ति, स्थिरता, लोकतन्त्र र विकासको विरोधी भएकाले यसलाई परास्त गर्न संयुक्तरुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले यसमा नेपालको पूर्ण समर्थन रहने पनि बताउनुभएको छ । प्रधानमन्त्रीले जुनसुकै स्वरुप र आवरणका हरेक आतङ्कारी क्रियाकलाप निन्दनीय भएको बताउँदै गुरदासपुर आक्रमणका आतङ्कारीलाई परास्त गर्न भारतीय सुरक्षाकर्मी सफल भएकामा उनीहरुको साहसिक कदमकोे प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया