वन फँडानीका कारण जीवजन्तु सङ्कटमा

इनेप्लिज २०७२ साउन ११ गते ४:०० मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ११ साउन । म्याग्दीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका जङ्गलबाट जथाभावीरुपमा वन पैदावर तथा जडीबुटी निकाल्नुका साथै वन फँडानी हुने क्रम बढ्दै गएपछि त्यस क्षेत्रका जीवजन्तु सङ्कटमा पर्दैै जान थालेका छन् ।

उच्च पहाडी क्षेत्रका जीवजन्तुको आहारा तथा औषधि भनेको नै त्यहाँ रहेका जडीबुटी, फलफूल तथा पातपतिङ्गर भएकाले त्यसको संरक्षणबाट मात्र हिमाली तथा पहाडी क्षेत्रको सौन्दर्यलाई बढाउनुका साथै जीवजन्तुको वासस्थानलाई सुरक्षित गर्न सकिने सरोकारवालाले बताएका छन् ।

जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर तथा जडीबुटीविज्ञ चन्द्रमणि सापकोटका अनुसार वनजङ्गलको विनास र मानवीय क्रियाकलापका कारण म्याग्दीका उच्च पहाडी भेगका जङ्गलबाट जीवजन्तुले वासस्थान छोड्दै गएका छन् ।

वातावरण संरक्षण ऐन २०५३ मा जङ्गलबाट पाँच टनभन्दा बढी जडीबुटी सङ्कलन गर्नुप¥यो भने आइइइ (प्रारम्भिक वातावरण सर्भेक्षण) गर्नुपर्ने र त्यहाँ रहेका वन्यजन्तुलाई कस्तो असर पर्छ भन्ने कुरा खुलाउनु पर्ने उल्लेख रहेको छ । जङ्गलमा रहेका जडीबुटीमध्ये ६० प्रतिशत मात्र जडीबुटी निकाल्न अनुमति दिने र बाँकी ४० प्रतिशत जङ्गलमा नै रहन दिनुपर्ने प्रावधान रहेको छ ।

जिल्ला वन कार्यालय म्याग्दीका अनुसार म्याग्दीका उच्च पहाडी क्षेत्र गुर्जा, लुलाङ, मुदीलगायतका ठाउँ र धौलागिरि, निलगिरि, चुरेन र गुर्जा हिमालको तल्लो भेगमा यार्सागुम्बा, जटामसीलगायतका जडीबुटी र वन पैदावर निकाल्नुका साथै अन्य क्षेत्रमा पनि वनको संरक्षणमा स्थानीयले खासै पहल नगर्दा वन्यजन्तुको वासस्थान नासिँदै गएको हो ।

म्याग्दीका उच्च पहाडी क्षेत्रमा केही वर्ष अघिसम्म प्रशस्त मात्रामा पाइने तित्रा, वनढिकुर, जुरेलो, कालिजलगायतका पक्षी, मृग, रतुवा, फ्याउरो, स्याललगायत जङ्गली जनावर अहिले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय बासिन्दाले बताएका छन् ।

उपभोक्ताले घर निर्माण गर्नका लागि आवश्यक पर्ने काठ अधिकांश सामुदायिक वनबाट नै ल्याइनुका साथै इन्धनका रुपमा दाउराको प्रचुर मात्रामा प्रयोग गरिनुले पनि जङ्गल फँडानी हुने क्रम बढ्दै गएको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य देवबहादुर घलेले बताउनुभयो ।

प्रतिक्रिया