लामो समयदेखि वर्षा नहुँदा किसान चिन्तित

इनेप्लिज २०७२ साउन ११ गते १:३७ मा प्रकाशित

विराटनगर, ११ साउन । लामो समयदेखि मनसुनी वर्षा नहुँदा किसान चिन्तित हुन थालेका छन् ।

मोरङमा दुई सातादेखि धान रोपाइँयोग्य वर्षा नभएको र रोपिएका धानबाली सुक्ने अवस्थामा पुगेकाले किसान चिन्तित भएका हुन् ।

असार महिनामा थोरै वर्षा भएको अवस्थामा साउन पहिलो सातादेखिनै खेतीयोग्य वर्षा हुन्छ भनेर किसान आशमा थिए । तर, दुई सातादेखि निरन्तर रुपमा प्रचण्ड गर्मीका साथै वर्षा नहुँदा असिञ्चित क्षेत्रका किसान चिन्तित भएका छन् ।

मोरङमा ९७ हजार ८६० हेक्टर र सुनसरीमा ५८ हजार ५०० हेक्टर जग्गामा धानको खेती गरिन्छ । यी दुइटै जिल्लामा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरबाट ६८ हजार हेक्टर जग्गामा सिँचाइ हुने गर्दछ । यसबाहेक, डिपबोरिङबाट पनि सिँचाइ गरिन्छ ।

सिँचाइ भइरहेको क्षेत्रमा यतिखेर पानीको माग अत्यधिक भइरहेकाले नहरको पुछारका किसानलाई मागअनुरुपको पानीको आपूर्ति हुन नसकिरहेको अवस्था देखिन्छ ।

पचास प्रतिशतभन्दा बढी जग्गामा आकासे भरमा खेती गरिन्छ । जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले वर्षा नहुँदा धानबाली रोपाइँ क्रमिकरुपमा सुस्ताउन थालेको भए पनि अहिलेसम्म ६० प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ ।

उहाँ भन्नुहुन्छ, “रोपिएको धानबाली कतिपय ठाउँमा सुक्न थालेकाले यदि एक साता यस्तै अवस्था रह्यो भने धानबाली उत्पादनमा ह्रास आउने सम्भावना प्रवल छ ।”

धान रोपाइँका लागि तम्तयार अवस्थामा रहेका किसान यतिखेर सुक्खा खेतलाई जोतेर वर्षा हुनासाथ धमाधम रोपाइँको पर्खाइमा बसेका छन् ।

प्रतिक्रिया