चितवनमा लुटपाट गर्ने गिरोह सार्वजनिक

इनेप्लिज २०७२ साउन १० गते १५:३५ मा प्रकाशित

Chitwan_district_locationचितवन, १० साउन । जिल्ला प्रहरी कार्यालय चितवनले घरमा प्रवेश गरी आक्रमणपश्चात् लुटपाट गर्ने एक गिरोहलाई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा लक्ष्मीबजार–९ गोरखाका २७ वर्षीय राजु गुरुङ, लक्ष्मीबजार–७ कै १५ वर्षीय अर्जुन सापकोटा र पीडापानी–५ अर्घाखाँचीका १८ वर्षीय सन्तोष रानामगर रहेका छन् ।

उनीहरुले भरतपुरको यज्ञपुरी तथा कृष्णपुर क्षेत्रमा रातिको समयमा घरभित्र प्रवेश गरी मानिसलाई घाइते बनाई नगद तथा सुन लुटपाट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो ।

तीनवटा घटनामा पाँचजनालाई गम्भीर चोट पुग्नेगरी घाइते बनाएकाले उनीहरुलाई ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी, प्रहरीले विगत दुई सातामा विभिन्न स्थानमा गरी पाँच थान हतियारसहित पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार असार २३ गते नारायणगढबाट बारा सपही—९ का २२ वर्षीय सन्तोष रानाकुँवर र बारा मधुजब्दी–४ का ४५ वर्षीय वीरेन्द्र ठाकुर लोहारलाई एक थान पेस्तोल र सोमा लाग्ने एकथान गोलीसहित पक्राउ गरेको छ ।

साउन ६ गते पिप्ले गाविस ६ लोथरबाट सोही स्थान बस्ने १७ वर्षीय किशोर चेपाङ र सोही ठाउँका २१ वर्षीय गणेश चेपाङलाई तीन थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, साउन ७ गते भरतपुर–१ लीलाचोकबाट सोही ठाउँ बस्ने वर्ष २७ का विक्रम गुरुङलाई एक थान चाइनिज पेस्तोल र सोमा लाग्ने १५ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

हतियारसहित पक्राउ परेकालाई हातहतियार तथा खरखजाना ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । गत बर्ष भदौयता जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले १४ थान हतियार बरामद गरेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया