संसदमा नवलपरासी घटनाको छानबिन गर्न माग

इनेप्लिज २०७२ साउन १० गते १५:१३ मा प्रकाशित

काठमाडौँ, १० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको छोरा जीवन कोहारलाई बली दिने अभियुक्तलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन् ।

विशेष समय लिएर बोल्दै सभासद् वैजनाथ चौधरीले आफ्ना छोरा विजय हरिजनको रोग निको पार्न अर्काको छोराको हत्या गर्ने कोदई हरिजनलगायतलाई कडा कारबाही गर्न माग गर्नुभयो ।

एक्काइसौँ शताब्दीमा पनि यस्तो बर्बर घटना हुनु राज्यको गैरजिम्मेवारपन हो भन्दै उहाँले आगामी दिन यस्ता घटना दोहोरिन नदिन सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद दुलारी हरिजनले कुरियाटारमा भएको यस घटनाले मान्छेले मान्छे भएर बाँच्न पाउने अधिकार हनन् भएको भन्दै त्यस घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो ।

यसैगरी, सांसद विक्रम खनालले पनि यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ भन्दै घटनामा संलग्न केही व्यक्ति पक्राउ परेपनि यस्ता घटना गर्न उक्साउने अन्य व्यक्तिलाई पनि खोजीखोजी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया