तरकारीमा आत्मनिर्भर बन्दैछ पर्वत

इनेप्लिज २०७२ साउन १० गते १२:०८ मा प्रकाशित

tarkariफलेवास (पर्वत), १० साउन । पर्वतलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ ।

जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीलाई बृहत्तर योजनाका रुपमा विकास गराउँदै आगामी केही वर्ष भित्रैमा आत्मनिर्भर बनाउने अभियान सुरु गरेको हो । जिल्लाका धेरैजसो गाविसमा व्यावसायिक रुपमा तरकारी खेतीको सुरुवात गरिएको छ । विदेशबाट फर्केका युवा लागिपरेका छन् । “तरकारी खेतीमा युवाको सङ्ख्या ठूलो छ”, वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी भन्नुहुन्छ– “युवाको जोसले जिल्लामा केही वर्षमा नयाँ परिर्वतन ल्याउनेछ ।” विगतका वर्षमा व्यावसायिक तरकारी खेती न्यून हुने पर्वतमा विगत ३ वर्षदेखि ठूलो मात्रामा तरकारी उत्पादन हुन थालेको रेग्मीले बताउनुभयो ।

जिल्लाको पाङराङ, नाङलीवाङ, शालिजा, लेकफाँट, बनौ, बाजुङ, माझफाँट, धाइरिङ, कुस्मा नगरपालिका, बहाकी, लुङ्खु लगायतका क्षेत्रमा कृषक व्यावसायिक कृषि कर्ममा लागेका छन् । बर्सेनि करोडौँ मूल्यको तरकारी बाहिरी जिल्लाबाट जिल्ला भित्रँदै आएकामा त्यो दर क्रमशः न्यून हुँदै गइरहेको रेग्मीको भनाइ छ । पोखराबाट आउने तरकारी यतिबेला घटिरहेको छ । उत्पादन बढाउँदा ठूलो रकम जिल्लामा बच्ने र व्यावयासिक कृषकको सङ्ख्यामा पनि वृद्धि हुने भएका कारण कार्यालयले व्यावसायिकतामा प्राथमिकता दिएको छ ।

मुख्यगरी आलु, गोलभेँडा, काउली, बन्दागोभी, गाजर, मूला र करेला जिल्लामा ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । जिल्लाका केही उत्पादन बाहीरी जिल्लामा पनि खपत हुने गरेको बताउँदै रेग्मीले जिल्लाको आर्थिक विकासमा कृषि क्षेत्रको ठूलो योगदान गरेको बताउनुभयो । यसैबीच कृषि क्षेत्रअन्तर्गत युवाले सामूहिक रुपमा पशुपालन पनि गरिरहेका छन् । पछिल्लो समयमा कृषि सहकारी संस्थाको स्थापना गरी युवा जमात सामूहिक तरकारी खेतीमा लागिरहेका छन् । सदरमुकाम कार्यालय रहने गरी स्थापना भएका सहकारीले करोडाँैको पुँजी समेत कृषि सहकारीमा लगानी गरिरहेका छन ।

शुभकामना कृषि सहकारीका अध्यक्ष शैलेन्द्र कर्माचार्य भन्नुहुन्छ, “हाम्रो उद्देश्य लगानी नपाएर कृषि कर्म गर्न नपाएका कृषकलाई सहयोग गर्नु हो ।” झन्डै रु एक करोड ५० लाखको चालु सुरुवाती पुँजीमा सुरु भएको उक्त सहकारीले सस्तो ब्याजदरमा कृषकलाई ऋण उपलब्ध गराउँदै आएको छ । यसैगरी जिल्लाकै नमुना कृषि सहकारीले पनि व्यावसायिक रुपमा कृषि फार्मको स्थापना गरी व्यावसायिक तरकारी खेतीको सुरुवात गरेको छ । कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार कृषि सहकारीमार्फत तरकारी खेतीको पनि पछिल्लो समयमा प्रवद्र्धन कार्य सन्तोषजनक देखिन्छ ।

प्रतिक्रिया