हिन्दूराष्ट्रको लागि चितवन तात्दै छ

इनेप्लिज २०७२ साउन ९ गते २२:४० मा प्रकाशित

पत्रकार सम्मेलन

चितवनका हिन्दूराष्ट्र पक्षधर विभिन्न धार्मिक संघसंस्थाहरूले हिन्दूराष्ट्र कायम गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित क्षेत्रलाई दबाब दिनको लागि चरणबद्ध आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेका छन् । सनातन धर्म ॐकार परिवार हिन्दू बौद्ध, जैन, शिख, किराँत, प्रकृतिपूजक आदिको साझा अस्तित्त्व रहने गरी नेपाललाई सनातन हिन्दूराष्ट्र नै उल्लेख गर्नुपर्छ भन्ने अडानमा उनीहरू पुगेका छन् ।

संयुक्त सनातन मोर्चाका चितवन संयोजक गणेशप्रसाद शर्माले न्यूजटिमलाई दिनुभएको जानकारी अनुसार यही साउन आठ गते पत्रकार सम्मेलन गरी सो आन्दोलनको घोषणा गरिएको थियो भने नौ गते शनिवार करिव पाँचहजार भन्दा बढी युवाहरूको मोटरसाइकल र्याली भरतपुर टर्मिनल बसपार्कबाट कारागार, जिल्लाप्रहरी कार्यालय, चौबीसकोटी, सहिदचोक, पोखराबसपार्क, पुल्चोक, गैंडाकोटका भित्री क्षेत्रहुँदै पुनः पुल्चोक, सहिदचोक, धर्मचोक लंकु हुँदै चौबीसकोठीमा आएर बिसर्जन भएको थियो । भोली दश गते जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई हिन्दूराष्ट्रलाई संविधानमा उल्लेख गर्न ज्ञापन पत्र बुझाइने आयोजकहरूले बताएका छन् ।

आफ्नो मागलाई सरकारको तथा संबन्धित क्षेत्रको तर्फबाट सुनुवाई भएनभने क्रमशः माग सुनुवाई नहुँदासम्म आन्दोलन चरणबद्धरूपमा सशक्त हुँदै जाने बताईएको छ । यसरी क्रमशः गरिने आन्दोलनका कार्यक्रमहरूमा एघार गते साउन चिराग जुलुश निकाल्ने, बाह्रगते जनप्रदर्शन गर्ने बताईएको छ । यसरी हुने आन्दोलनप्रति राज्य तथा सम्बन्धित क्षेत्रले वास्ता नगरे रहरले नभएर बाध्यताले तेह्र गते बन्दको कार्यक्रम पनि गरिने भनिएको छ ।

बन्दको कार्यक्रमलाई नवलपरासी, पर्सा, मकवानपुर लगायतका जिल्लाले पनि आआफ्नो जिल्ला बन्द गरेर सहभागिता जनाउनसक्ने बताएको जानकारी प्राप्त भएको छ ।

धर्मक्षेत्रको आन्दोलन बन्द गरेर ? भन्ने प्रश्नको जवाफमा आन्दोलनको सहभागी संस्था शब्द चिन्तन युवा संघका अध्यक्ष निरज काफ्लेले यो आफूहरू बाध्यता भएको, विदेशको स्वार्थ पूरा गर्न नेपालीले धेरै बन्दको सामना गरेकोमा यो त आफ्नो धर्मको रक्षाको लागि भएको हुनाले आमसर्वसाधारणले यसमा सहयोग गर्नुहुने र बन्दको लागि यहाँ व्यापारी तथा उद्योगी व्यवसायीहरूबाटै सुझाव आएको हुनाले पनि बन्दको कार्यक्रम राखिएको बताउनु हुन्छ ।

पत्र-कार सम्मेलन

हिन्दू युवा संयोजन समितिका संयोजक प्रेमनिधि भारद्वाजले यसै जिज्ञाशामा ‘बन्द एक दिनमात्र हैन हिन्दूराष्ट्र कायम गर्ने सुनिश्चित नभएसम्म नै अनिश्चितकालीन बन्द गर्नपनि यस स्थानका व्यापारी, उद्योगी र आमसर्वसाधारणहरूले हामीलाई सल्लाह दिइरहनु भएको छ’ भन्नु हुन्छ ।

हिन्दू धर्म वास्तवमै भन्ने हो भने यहाँका आदिवासी जनजातिको धर्म हो । यो कुरा विस्तारै विस्तारै यो क्षेत्रले बुझ्दै छ र अब हुने हिन्दू आन्दोलनमा आदिवासी जनजातिको ठूलो सहभागिता हुने छ, सनातन हिन्दू मोर्चाका चितवन अध्यक्ष कृष्ण लामाले सञ्चार समूहलाई कुराकानीका क्रममा बताउनु भयो ।

देवघाटधामका स्वामीहरू ज्ञानानन्द सरस्वती, रामानन्द गिरी, आत्मानन्द गिरी, देवराज आचार्य, जगन्नाथ आचार्य, हरिशरण आचार्यलगायतको संरक्षकत्त्व एवम् मार्गदर्शनमा, दुईहजारभन्दा बढी धार्मिक संघसंस्थाहरूको सहभागिता तथा हिन्दूराष्ट्र बचाऊँ अभियानका अध्यक्ष प्रा.डा. गुरूप्रसाद सुवेदीको संयोजकत्त्वमा सो आन्दोलन हुन गईरहेको जानकारी आठ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा गराईएको थियो ।

चितवनबाट शुरु भएको सो आन्दोलको ‘हिन्दूराष्ट्र बचाऊँ अभियान’ कार्यक्रम देशभरी हिन्दूराष्ट्रको लागि सञ्चालन भएका आन्दोलनका आयोजक पक्षले आत्मसात गर्ने र सो कार्यक्रम साझा कार्यक्रमको रूपमा अघि बढ्ने बुझिएको छ । देशभरीबाट नब्बे प्रतिशतभन्दा बढी सुझाव हिन्दूराष्ट्रको पक्षमा आएको जानकारी आइरहेको सन्दर्भमा केही नेताहरूले धर्मलाई कुनै राज्यव्यवस्थासँग समेत जोडेर धर्मनिरपेक्षता नउल्टिने अभिव्यक्ति दिन थालेको प्रति धार्मिक क्षेत्र आक्रोशित भएको छ । विदेशीको ईशारा एवम् प्रलोभनमा नेताहरूले यस्तो अभिव्यक्ति दिएको औंल्याउँदै हिन्दूराष्ट्र कायम गर्न तथा धर्मनिरपेक्षता हटाउनको लागि जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको र कडा आन्दोलनको कार्यक्रम तय हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया