स्वास्थ्यमा सुदूरपश्चिमलाई प्राथमिकता दिन्छौँ: मन्त्री अधिकारी

इनेप्लिज २०७२ साउन ९ गते १५:५० मा प्रकाशित

khagaraj_adhikari_697382002भीमदत्तनगर, ९ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सरकारले स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिमलाई प्राथमिता दिने बताउनुभएको छ ।

कञ्चनपुरलाई खुला खोपयुक्त जिल्ला घोषणा गर्न भीमदत्तनगर पुग्नुभएका मन्त्री अधिकारीले पछिल्लो समय सुदूरपश्चिमका जनतामा स्वास्थ्य सेवा पुर्‍याउने सन्दर्भमा आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।

कञ्चनपुरको दोधारा चादँनीमा अस्पताल बनाउनेदेखि झलारीमा १५ शय्याको स्वास्थ्य केन्द्र र दैजीमा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढिसकेको तथा महाकाली अञ्चल अस्पतालमा पनि आइसियु स्थापना भइसकेको उहाँले जानकारी दिनुभयो ।

हाल दरबन्दीमा चिकित्सकविहीन अवस्थामा पुगिरहेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा पनि ११ तहको चिकित्सक नियुक्त गरिसकेको जानकारी दिनुहँुदै मन्त्री अधिकारीले केही दिनभित्र यहाँका सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म चिकित्सक पु¥याउने आश्वासनसमेत दिनुभयो ।

“वीर अस्पतालमा मात्रै चिकित्सकले सेवा दिएर हुँदैन”, उहाँले भन्नुभयो, “महाकाली अञ्चल अस्पतालमा पनि सेवा दिन चिकित्सक तयार हुनुपर्छ ।”

एक वर्षमुनिका नौ हजार ५०० बालबालिकालाई ११ किसिमका खोप लगाएर कञ्चनपुरलाई खोपयुक्त जिल्ला घोषणा गरिएको प्रति यहाँका स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई उहाँले धन्यवादसमेत दिनुभयो ।

सुदूरपश्चिमको अछामको भावेश्वरबाट नेपालमा खुला खोपयुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम थालिएको बताउँदै सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख पर्शुराम श्रेष्ठले कञ्चनपुरका देशका १०औँ खोपयुक्त जिल्ला भएको बताउनुभयो । “सुदूरपश्चिमलाई नै देशकै पहिलो खोपयुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिरहेका छौँ” क्षेत्रीय निर्देशक श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा कञ्चनपुरलाई खोपयुक्त जिल्ला घोषणा गर्न सहयोग पु¥याउनु हुने महिला स्वास्थ्य स्वयम्सेविकालगायतका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया