काठमाडौँ, ९ साउन । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.११ अङ्कले उकालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको मौद्रिक नीतिले पुँजी बजारमा सकारात्मक प्रभाव परेकाले नेप्से अन्तिम दिन १००३.३८ विन्दुमा पुगेको हो ।
गत साताको नेप्से पहिलो दिनको तुलनामा १६.२७ अङ्कले बढेको थियो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीको पाँच हजार ९१२ कारोबारबाट रु ९३ करोड २३ लाख ९६ हजार बराबरका १९ लाख २० हजार चार सय २० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा २९.५४ प्रतिशत कम हो । गत साता १७२ कम्पनीको कारोबार भएको थियो ।
जसअनुसार सात हजार ४४३ कारोबारबाट रु एक अर्ब ३२ करोड ४१ लाख ८३ हजार बराबरका ३४ लाख ९२ हजार एक सय ५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यो साता वाणिज्य बैंक समूहको परिसूचकमा ५७.२८, विकास बैंक समूहको परिसूचकमा २५.३९, वित्त समूहको परिसूचकमा ६.०१, होटल समूहको परिसूचकमा १२.३९ अङ्कले वृद्धि भएको छ ।
त्यसैगरी जलविद्युत् कम्पनीका परिसूचकमा ६.०१, बिमा समूहको परिसूचकमा ७१.१२, उत्पादन समूहको परिसूचकमा ६.५२ र अन्य समूहको परिसूचकमा ५.३७ अङ्कले वृद्धि भएको थियो । तर व्यापार समूहको परिसूचकमा भने कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।
‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ९.३४ अङ्कले बढेर २१४.२४ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा नविल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल अग्रस्थानमा छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि दुई दिनमात्र खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रका कुनै पनि कारोबार भएनन् ।
प्रतिक्रिया