एक युवाको मृत्यु प्रकरणमा माडी उपत्यका बन्द

इनेप्लिज २०७२ साउन ९ गते ९:०४ मा प्रकाशित

रत्ननगर (चितवन), ९ साउन । चितवनको माडीका एक युवाको रहस्यमय मुत्यु प्रकरणलाई लिएर स्थानीयले आज माडी उपत्यका बन्द गराएका छन् ।

माडी नगरपालिका–६ रमाइलो डाँडा बस्ने वर्ष १८ का सुनिल दराइको हिजो रहस्यमय रुपमा भरतपुरमा मृत्यु भएको थियो ।

प्रहरीले हिरासतमा रहेका बेला कुटपिट गरेकाले उनको मृत्यु भएको भन्दै पीडित परिवार तथा स्थानीयले यहाँको यातायात बन्द गराएका हुन् । उनीहरुले पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् ।

उक्त घटनापछि शुक्रबार दिनभर तनाव भएको माडीमा आज बन्दले यातायात बन्दबाट यात्रु प्रभावित भएका छन् । हिजोको बन्दले आजित भएका यात्रु आज थप बन्द हुँदा नारायणगढ माडी आवतजावत गर्ने प्रभावित भएका छन् ।

गएको असार ३० गते मापसे गरेको फेला पारेपछि प्रहरीले एक दिन हिरासतमा राखेर उनीलगायत पाँच जनालाई छाडेको थियो ।

प्रहरीले हिरासतमा राख्दा कुटपिट गरेका कारण मृत्यु भएको आरोप उनका आफन्तले लगाएका स्थानीय नागरिक अगुवा श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । जसका कारण हिजो माडीमा शव प्रदर्शन गर्ने क्रममा प्रहरी कार्यालयमा झडपसमेत भएको थियो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार मापसे गरेका उनीसहित पाँच जनालाई असार ३० गते नियन्त्रणमा लिइएको थियो । उनीहरु सबैलाई भोलिपल्ट यस्तो नगर्ने सर्तमा तारिखमा आउने गरी रोहवरमा छाडिएको थियो ।

अहिले बिरामी भएर मृत्यु भएपछि प्रहरीले कुटेर मारेको भनी मित्थ्या आरोप आएको थापाले बताउनुभयो ।
प्रहरीले उनीहरुलाई कुनै पनि यातना नदिएको उहाँले दाबी गर्नुभयो । उनलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएकामा शुक्रबार मृत्यु भएपछि प्रहरीमाथि आरोप लागेको हो । प्रहरीले उनको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाएको छ ।

प्रतिक्रिया