तीन सय घरधुरी एक महिनादेखि अन्धकारमा

इनेप्लिज २०७२ साउन ९ गते ३:५७ मा प्रकाशित

timthumb.phpबाबियाचौर (म्याग्दी), ९ साउन । विद्युत् लाइनमा खराबी आएपछि म्याग्दीको हिस्तान गाविस ७, ८ र राम्चेको ९ नम्बर वडाका बासिन्दा एक महिनादेखि अन्धकारमा रात बिताउँदै आएका छन् ।

तेत्तीस केभिए प्रसारण लाइन मर्मतमा ढिलाइ हुँदा तीन वटा वडाका ३०० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका हुन् । विद्युत् आपूर्ति नहुँदा टुकी बाल्नुपरेको आदर्श मावि रिमाका प्रअ कुमार गर्बुजाले बताउनुभयो ।

लाइन मर्मतका लागि पटकपटक नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रमा ध्यानाकर्षण गराए पनि बेवास्ता भएको स्थानीयको गुनासो छ । केन्द्रका प्रमुख सीताराम शाहले भौगोलिक विकटता र कम जनशक्ति हुँदा लाइन मर्मतमा ढिलाइ भएको बताउनुभयो ।

एक प्राविधिकलाई सो क्षेत्रको लाइन मर्मतमा खटाए पनि खराबी पत्ता लाग्नै नसकेको शाहले बताउनुभयो । यसैबीच सो क्षेत्रका विद्युत् उपभोक्ताले रु तीन÷चार सय विद्युत् महसुल बुझाउन सोभन्दा तेब्बर बढी खर्च गरेर सदरमुकाम पुग्नुपर्दा मर्कामा परेको गुनासो गरेका छन् । उनीहरुले गाउँमै महसुल बुझाउने व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रिया