विराटनगर, ८ साउन । मोरङ र सिरहामा लागुऔषधसहित तीन जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मोरङ केराबारी–५ का चन्द्रबहादुर कार्की र केराबारी–६ का ३८ वर्षीय होमबहादुर घिमिरेलाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनीहरुका साथबाट कोरेक्स बोतल १९ थान र १० नाइट्रोजन चक्की बरामद भएको हो ।
भारतको जोगवनीबाट को१६प ६५६८ नंको मोटरसाइकलमा चढेर आउँदै गर्दा विराटनगरगर–२१ स्थित ढाटमा सो मोटरसाइकलको जाँचका क्रममा सिटमुनि लुकाइएको अवस्थामा सो परिमाणका लागुऔषध बरामद भएको हो ।
यसैगरी प्रहरी गस्ती टोलीले सिरहाको माडरबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१७ स्थित माडरमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ज ४२१९ नंको टाटासुमो जाँच गर्ने क्रममा सो गाडीमा सवार उदयपुरको कटारी नगरपालिका–८ निवासी श्यामसुन्दर राजवंशीलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजवंशीका साथबाट नाइट्रोजन ५५ चक्की र कोरेक्स दुई बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राजवंशीसहित सो गाडीमा सवार अन्य चार जनालाई समेत आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया