काठमाडौँ, ८ साउन । जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौँबाट र एकजनालाई ललितपुरबाट आज पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बोतल र जर्किनमा पेट्रोल बोकेका ती बन्दकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले राससलाई जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका बन्दकर्तालाई आवश्यक छानबिनपश्चात् मात्र रिहा गरिने प्रहरीले बताएको छ ।
माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा प्रहरीले सादा पोसाक र पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
बन्दकर्ताले आज बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड गरेको बाहेक सामान्य अवस्था रहेको प्रहरीले बताएको छ ।
बन्दको त्रासले उपत्यकामा फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका कारण जनजीवन प्रभावित बनेको छ । बन्दका कारण उपत्यकामा पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्था, कार्यालयसमेत प्रभावित भएका छन् ।
प्रतिक्रिया