मिनरल वाटरमा हुँदै नभएको अङ्ग्रेजी तारिख !

इनेप्लिज २०७२ साउन ६ गते १३:५४ मा प्रकाशित

package_water_immaखोटाङ, ६ साउन । खोटाङको सदरमुकाम दिक्तेलमा हुँदै नभएको अङ्ग्रेजी तारिख उल्लेख भएको मिनरल वाटर बोटल फेला परेको छ ।

अङ्ग्रेजी तारिखमै व्यवस्था नभएको मिति उल्लेख भएको उदयपुरको कटारीमा उत्पादित मिनेरल वाटर दिक्तेलका होटलहरूमा छ्याप्छ्याप्ती फेला परेको हो । फ्रेन्ड एन्ड ब्रदर्श इन्डस्ट्री कटारी–७ ले उत्पादन गरेको ‘बिहानी जल प्रशोधित पिउने पानी’को बोतलमा उत्पादन मिति फेब्रुअरी–३० उल्लेख छ । तर, अङ्ग्रेजी पात्रोअनुसार फेब्रुअरी–३० तारिख कहिल्यै हुँदैन ।

फेब्रुअरी महिना बढीमा २९ तारिखसम्मको हुन्छ । पात्रोअनुसार यस पटकको फेब्रुअरी महिना २८ तारिखको मात्र छ । उत्पादन मितिदेखि छ महिनासम्म उपयोग गर्न मिल्ने निर्देशन उल्लेख भएको उक्त भाँडोमा अधिकतम मूल्य पनि तोकिएको छैन ।

गलत उत्पादन मिति उल्लेख भएको मिनरल वाटर होटलबाहेक सदरमुकाममा आयोजना हुने विभिन्न सङ्घसंस्था तथा कार्यालयले गर्ने सार्वजनिक कार्यक्रममा समेत प्रयोग गर्दैआएका छन् ।

निगरानी र अनुगमनको अभावमा गलत प्रकृतिका मिनरल वाटर जिल्ला भित्रिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । पिउने पानी वितरणका नाममा जनस्वास्थ्यमाथि खेलबाड गर्ने कम्पनीमाथि कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायको नाममा जनतालाई ठगी गर्ने कुनैपनि व्यक्ति वा संस्थालाई छुट दिइने छैन, उनीहरूलाई खोजी–खोजी कारबाही गरिनेछ ।”

सदरमुकाम दिक्तेलमा वितरण गरिएको खानेपानीको मुहान दूषित भएपछि मिनरल वाटर प्रयोगकर्ताको सङ्ख्या बढेको हो ।

प्रतिक्रिया