मोदीले लिपुलेकको विषयमा ठ्याक्कै कुनै कमेन्ट गर्नु भएन ।

इनेप्लिज २०७२ साउन ६ गते १२:०१ मा प्रकाशित

prachanda_1भारत भ्रमणमा रहनु भएका पूर्व प्रधानमन्त्री एवम एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणको क्रममा नयाँ दिल्लीमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री शुष्मा स्वराज,विदेश सचिव, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार र भारतीय विपक्षी दलका नेताहरुसँग समूहगत र अलग अलग भेटवार्ता गरेका छन । उनले त्यहाँ दुई मुलुकको सम्बन्धसहित संविधान निर्माण, शान्ति प्रक्रिया, सीमा विवाद र पुर्ननिर्माणको विषयमा कुरा राखेका छन । उनीसँग भएका कुराकानीका विषयमा पत्रकार ऋषि धमलाले गरेको बार्तालाप

तपाईको भारत भ्रमणका उपलब्धिहरु के के हुन ?
मैले पहिला पनि काठमाडौमा पत्रकारसँग भनेरै आएको छु, नेपाली जनताको अघि प्रष्टै राखेर आएको छु । नेपालका प्रमुख पार्टीहरुले शान्ति र संविधान निर्माण प्रक्रियाको समापन गर्ने निर्णय हामीले गरिनै सकेका छौ । संविधानको पहिलो मस्यौदा जनताको हातमा पुगिनै सकेको छ । अब यो शान्ति र संविधान निर्माण प्रक्रियामा हामीलाई सुरु देखिनै सहयोग गर्ने र सदभाव राख्ने हाम्रा छिमेकीहरु त्यसमा पनि भारतको सद्भाव आवश्यक छ । त्यसकारण म त्यो बातावरण बनाउने उद्देश्यका साथ र गुजरातमा भुकम्पबाट भएको विनासको पुर्ननिर्माण कसरी गरिएको छ त्यसको अवलोकन गर्ने र दुई देशको सम्बन्धलाई नयाँ किसिमले अगाडि बढाउने सन्दर्भमा म यहाँ आएको थिए । भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र यहाँका सबै नताहरुसँग सुरुदेखि यहाँ जतिपनि मेरो छलफल भएको छ । कुराकानीमा मैले नेपालको शान्ति र संविधान लाई सबल पार्ने बारे नेपालमा भईरहेको छलफल र नेपालका पार्टीहरुले गरेको निर्णयको पक्षमा मैले आफ्नो तर्कहरु राखेको छु । भारतीय नेताहरुको, भारतीय सरकारको र भारतीय जनताको सदभाव रहने छ भन्ने विश्वास मैले ब्यक्त गर्दै आएको छु ।

नेपालको संविधान निर्माण प्रक्रिया सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोचाई कस्तो पाउनु भयो ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुरा राख्दा खेरी उहाँले यही नै हुनु पर्छ भनेर केही पनि भन्नु भएन । उहाँले सीमांकन शब्द प्रयोग पनि गर्नु भएन । सीमांकन हुनै पर्छ भनेर उहाँले भन्नु भएन । उहाँले यति भन्नु भयो कि बढी भन्दा बढी सहमतिबाट संविधान बनोस । उहाँकै शब्दमा भन्ने हो भने झगडाको विऊ नरहोस । सानो विऊ पनि पछि ठूलो हुन सक्ला, त्यो पनि नरहने गरी अलि राम्रो छलफल गराएर सबैको अधिकतम सहमतिबाट संविधान बनोस । नेपालमा राजनीतिक स्थिरता होस, मैले पहिला पनि गएर भनेको छु । भन्ने कुरामा नै उहाँको जोड रह्यो ।

भारतीय प्रधानमन्त्रीको जोड संविधानमा सबैको अपनत्व होस भन्ने हो ?
हो, अहिले मसँगको कुराकानीमा पनि उहाँले यो हुनु पर्छ त्यो हुनु पर्छ भनेर त भन्नु भएन । तर सबै पक्षको सहमति र अपनत्व भएको संविधानले भोली सजिलो हुन्छ तपाईहरुलाई अगाडि जान भन्ने सुझाव चाँही उहाँकै पक्कै पनि थियो प्रष्ट भाषामा । तर यही नै हुनु पर्छ भनेर कुनै ठोस रुपमा उपदेश दिने जस्तो केही भएन ।

मोदीले काठमाडौमै सबैको सहमतिमा संविधान जारी हुनु पर्छ भनेर भन्नु भएको थियो नि ?
मैले तपाईले ट्रमा सेन्टरको उदघाटनको बेला भनेको कुरा राम्ररी थाहाँ छ । तपाईले भन्नु भएको थियो माओवादी, मधेसवादी र पहाडका सबैको सहमतिबाट संविधान बन्नु पर्छ । त्यसलाई हामीले गंभिर रुपमा लिएका छौ । हामीले अधिकतम सहमतिको संविधान बनाउने कोशिस गरिरहेका छौ । अहिले जनताको हातमा मस्यौदा भए पनि परिमार्जनको ठाँउ छ । अझ बढी भन्दा बढी संबोधन गर्ने हाम्रो कोशिस जारी रहन्छ भनेर मैले भनेको छु ।

मधेसी दलहरुलाई पनि सँगै लिएर जानु पर्छ भन्ने संकेत हो भारतीय प्रधानमन्त्रीको ?
म त्यो भाषामा भन्न चाहन्न । मेरो उहाँसँगको झण्डै ४० मिनेटको कुराकानीमा उहाँको आशय मधेस तिर झुकाव वा पहाडतिर नझुकाव भन्ने थिएन । समग्रमा संविधान अधिकतम सहमतिबाट बनोस । कसैले यो हाम्रो अपनत्व नभएको संविधान भन्ने नलागोस । राम्रो छलफल गरेर बनोस भन्ने चाहना देखियो । संविधान जारी भईसकेपछि नेपालमा फेरि नदेखियोस भन्ने चाहना देखिन्थ्यो । संविधान जारी हुने फेरि विवाद पनि रहिरहने नहोस भन्ने चिन्ता थियो । उहाँले भाषा के प्रयोग गर्नु भयो भने संविधान जारी हुँदा फेरि विवादको विऊ बाँकी रहयो भने फेरि पछि नेपालमा समस्या हुन सक्छ । त्यस्तो नहुने तिर चाँही लिडरसिपहरुले ध्यान दिउन भन्ने सुझाव चाँही प्रष्टै थियो ।

यो भ्रमणबाट ब्यक्तिगत रुपमा तपाईलाई के फाईदा भयो ?
म ब्यक्तिगत फाईदाको लागि आएको होईन । मेरो त्यतातर्फ चिन्ता पनि छैन । नेपाल राष्ट्र जुन अप्ठ्यारोबाट गुज्रिएको छ । नेपालको राष्ट्रिय हितको पक्षमा, नेपाली जनताकोसंविधान छिटो बनोस र जनताको पक्षमा संविधान बनोस भन्ने चाहनालाई संबोधन गर्ने एउटा निर्णय सहित, एउटा मस्यौदा दिएर त्यसलाई परिमार्जनको प्रक्रिया चलिरहेको बेलामा म शान्ति र संविधानका पक्षधर हाम्रा छिमेकीहरुको पनि सदभाव जुटाउने उद्देश्यले आएको हो । दोस्रो कुरा मैले यहाँ आएर मोदीजीसँगै कुरा गर्दा पनि यो भने कि कालापानीको समस्या या सुस्ताको समस्या जुन उहाँले काठमाडौमा बोल्नु पनि भएको थियो । मैले भेटमा उहाँलाई त्यो कुरा पनि स्मरण गराए । मोदीलाई मैले भने यहाँले नै काठमाडौमा यो कुरा बोल्नु भएको थियो कालापानी र सुस्ता जस्ता ठाँउमा विवाद छन भने तिनको पनि छिटो समाधान होस भनेर । तपाईको सद्भाव प्रति नेपाली जनताको गहिरो विश्वास छ । फेरि तपाई नै प्रधानमन्त्रीको रुपमा चीन जादा भएको लिपुलेकको बारेको सम्झौताले अर्को जिज्ञासा जन्मिएको छ । यसमा पनि बास्तविकता जनताको विचमा आओस भन्ने नेपाली जनताको चाहना छ र हाम्रो पनि छ भनेर प्रष्टै सँग कुरा राखे ।

लिपुलेकको विषयमा भारतीय प्रधानमन्त्रीले के भन्नु भयो त ?
उहाँले सामान्यत सबै विषयमा नेपालको चिन्ता र आवश्यकतालाई आफ्नो तर्फबाट जे जस्तो सहयोग गर्नु पर्छ गर्न तयार छु भनेर पटक पटक कुरा राख्नु भयो । नेपालको शान्ति प्रक्रियाको ठूलो ऐतिहासिक महत्व छ भन्ने कुरा पनि राख्नु भयो । ठ्याक्कै लिपुलेकको विषयमा केही कमेन्ट गर्नु भएन । पहिला मेरो विदेशमन्त्रीसँग पनि कुराकानी भएको थियो ।

भारत र चीनको विचमा लिपुलेकको विषयमा सम्झौता भएको रहेन छ ?
मलाई लाग्छ प्रधानमन्त्री जीलाई मेरो विदेशमन्त्रीसँग भएको कुराकानी र मैले लिपुलेकको विषयमा छिटो भन्दा छिटो तथ्यहरुको अध्ययनको आधारमा जे यथार्थ हो त्यो जनताको विचमा ल्याउनु पर्यो, समस्याको समाधान हुनु पर्यो भनेको र विदेश मन्त्रीले यसमा अध्ययन गरेर टुङग्याउ पर्छ र समस्या समाधान गर्ने दृष्टिकोणले नै भनेको कुराको रिर्पोटिङ प्रधानमन्त्री मोदीजीलाई छैन भन्ने मलाई लाग्दैन । उहाँलाई रिपोर्टिङ राम्रो सँग भएको छ । मैले पनि कुरा राखेपछि उहाँले यसलाई गंभिर रुपमा लिनु भयो भन्ने मैले बुझेको छु ।

तपाईको यो भ्रमणले लिपुलेकको समस्या समाधान गर्छ?
मैले गंभिरतापूर्वक विषयहरु राखेको छु । नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा मैले विषयहरुलाई गंभिरतापूर्वक राखेको छु र मलाई के विश्वास भएको छ भने भारतले यसलाई गंभिरतापूर्वक लिएर समाधान गर्ने छ भन्ने विश्वाससहित म नेपाल जाँदैछु ।

नेपाली जनताले त विश्वास गर्न सकेका छैनन नि ?
सायद भारत र चीन दुबैको संलग्नता भएकोले प्रधानमन्त्रीहरुलाई बोल्दा केही समस्या पनि होला । एक्लै ले केही बोल्न अप्ठ्यारोपनि छ । दुईटा विशाल देशका प्रधानमन्त्रीले गरेका सम्झौतामा एउटा देशले केही बोल्न पनि अप्ठ्यारो होला । तर म चाँही के कुरामा क्लियर छु भने मैले नेपाली जनता र राष्ट्रको चाहना र आवश्यकतालाई गंभिरतापूर्वक भारतीय नेताहरुसँग राखेको छु । यो समस्याको समाधान हुन्छ भन्ने विश्वास मलाई परेको छ । नेपालको चिन्ताको विषयमा उहाँहरुले राम्रो बुझ्नु भएको र म आशा र विश्वास लिएर जाँदैछु कि थुप्रै समस्याहरु संबोधन हुन्छन । यही सन्दर्भमा म एउटा कुरा भनि हालौ । साना कारणले पनि प्राविधिक विषयहरु अडकिएर बसेका थूप्रैथिए । मैले भारतीय विदेशमन्त्रीसँग कुरा गरे । एउटा उदाहरण दिन्छु, जतिबेला हामी जनयूद्धमा थियौ त्यती बेला राजा ज्ञानेन्द्रले आएर भारतीय नेताहरुलाई भनेर हाम्रो दिल्लीमा नेपालीहरुको एउटा सामाजिक संगठन अखिल भारतीय नेपाली एकता समाज थियो त्यसमा प्रतिबन्ध लगाईएको रहेछ । अब जनयूद्ध शान्ति प्रक्रियामा आयो, माओवादी पार्टी आफै खुल्ला भयो । सरकारको नेतृत्व गर्यो । म त्यसको कमाण्डर प्रधानमन्त्री भईसके तर त्यसमाथि लगाएको प्रतिबन्ध अहिले पनि हटेको रहेन छ । मैले विदेशमन्त्रीलाई भनेपनि यो प्राविधिक विषय हो तुरुन्तै हल गरिन्छ भनेर भन्नु भयो । यो एउटा उदाहरण मात्रै हो । कैयौ कुरा मैले गंभिरतापूर्वक राखेपछि नेपालीहरुले भारतमा बैंक एकाउण्ट खोल्ने कुरामा पनि टेक्निकल समस्या रहेछ , मैले त्यो कुरा राखेपछि तुरुन्तै हल गरिन्छ भनेर भन्नु भयो । भारतीमा बस्ने नेपालीहरुको समस्या मैले राखेपछि त्यसमा भारतीय नेताहरु गंभिर नै रहेको पाए । नेपाली जनताको आकांक्षा , चाहना, सीमानाका समस्या राख्दा खेरी पनि यसलाई छिटो भन्दा छिटो समाधान गर्नु पर्छ भन्ने नै मैले पाए ।

पुर्ननिर्माणमा पनि भारतीय सहयोग र समर्थन प्राप्त गर्नु भयो ?
मैले नयाँ दिल्लीमा विपक्षी वा सत्तापक्ष जति पनि नेता भेट्दा मैले यो विनासकारी भुकम्पको सन्दर्भमा अत्यन्त तिब्र गतिमा भारतले उद्दार र राहतको निम्ती पहल लिएकोमा मैले धन्यबाद दिएको छु । दातृ सम्मेलनमा भारतीय पक्षले एक खर्व रुपैया दिन्छु भनेर भन्यो त्यसको निम्ती हामी धन्यबाद दिन चाहन्छौ भनेर भने ।

तपाईको भ्रमण सफल भयो ?
मेरो दृष्टिमा म जे अपेक्षाका साथ आएको हु । मैले नेपाल राष्ट्रप्रति ईमान्दार भएर, नेपाली जनताको चाहनाप्रति ईमान्दार भएर दुई देशको सम्बन्धलाई अलिकति नयाँ ढंगले अगाडि बढाउने सन्दर्भमा मेरो भ्रमण सफल भएको छ ।

भारतीय गृहमन्त्रीले प्रचण्डजी दुरदर्शि ब्यक्ति हो, उहाँलाई मैले शान्ति र संविधानको नेतृत्व तपाईले गर्नुस, हाम्रो समर्थन छ भनेर भन्नु भएको हो ?
भन्नु भएको हो । राजनाथ जीले त बडो प्रेम पूर्वक भन्नु भएको हो । प्रधानमन्त्रीजीले पनि यो शान्ति र संविधान निर्माण प्रक्रियालाई टुङग्याउने प्रमुख जिम्मा तपाईकै छ भनेर भन्नु भयो ।

तपाईको भारत भ्रमणलाई लिएर नेपालमा आलोचना भयो नि किन ?
हाम्रो त दुर्भाग्य नै भन्नु पर्छ । राम्रो उद्देश्यले राष्ट्रको पक्षमा, जनताको पक्षमा, दुई देशको सम्बन्ध सुधारको पक्षमा काम गर्दा पनि एकअर्काको खुट्टा तान्ने प्रबृत्ति त नेपालमा दुर्भाग्य पूर्ण नै छ । तर पनि मलाई लाग्छ, हाम्रा आफ्ना प्रतिबद्धता र हाम्रा आफ्ना क्रियाकलापले ति कुरालाई चिर्छ।

जनताको राय लिन छाडेर प्रचण्ड दिल्ली गए भन्छन नि ?
यो चाँही हदै पूर्वाग्रह भयो । सबै संसारलाई थाहाँ छ । अन्तर्राष्ट्रिय समूदायको सहयोग र छिमेकीको सदभाव भएन भने नेपालमा शान्ति, संविधान, आर्थिक प्रगति गर्न पनि अप्ठ्यारो हुन्छ भन्ने कुरा केही पनि नेपाली विवेकशील नेता वा मान्छेले राम्ररी बुझ्छन । अहिले मत के भन्छु भने संविधान निर्माण गर्ने निर्णय हामीले गरेर संविधानसभामा पहिलो मस्यौदा पारित गरेर जनताको हातमा त्यो मस्यौदा दिएर हाम्रा छिमेकीको सदभाव जुटाउन हिडेको नेतालाई त प्रंशसा पो गर्नु पर्छ । यति जिम्मेवारीपूर्ण काम गरेको भनेर पो भन्नु पर्छ । यहाँबाट फर्किएर म सिधै सिराहा जाँदैछु । यो अति भयो । राम्रो गर्नेलाई पनि नराम्रो बनाउने प्रबृत्ति नेपालको ईतिहासमा रहँदै आएको छ ।

तपाईले आफ्नो भ्रमणमा भारतका लागि नेपाली राजदुतलाई माईनस गर्नु भयो भन्ने आरोप पनि छ नि ?
यो पनि पूर्वाग्रहको र एउटा भ्रम छर्ने कुराको नमुना हो । ऋषि जी दिपकुमार उपाध्याय बडो खुसीका साथ निस्किएको तपाईले नै देख्नु भएको छ । बाहिरको हल्ला र भित्रको कुरा के रहेछ भन्ने कुरा त स्पष्ट छ । म आउनु भन्दा अघि नै मैले दिपकुमारजीलाई फोन गरेर म आउँदै छु । तपाईले आफ्नो ढंगले तयारी गरिदिनु होला , सहयोगको अपेक्षा छ मेरो भनेर भनेको थिए । परराष्ट्र मन्त्रीलाई मैले नै चिट्ठी लेखे । मन्त्रालयले टकिङ पोईन्ट भनेर लेखेर दिएको छ । भारत नेपाल सम्बन्धको विकास क्रम कसरी भएको हो भन्ने पेपर पनि मलाई परराष्ट्र मन्त्रालयले दिएको छ । त्यसकारण उता भन्दै नभनि आयो भन्नु पनि विल्कुल झुठा कुरा हो । दिपकुमारजीलाई विश्वासमा नलिएको भन्ने कुरा पनि झुठो हो । मैले आउने वित्तिकै सबैभन्दा पहिला दिपकुमारजीलाई नै कसरी गंभिर ढंगले कुराकानी अगाडि बढाउने त भनेर भेटेको हो । मैले कोही ठाँउमा हामीसँगै बसौ , कोही ठाँउमा मैले एक्लै पनि कुरा गर्न चाहेको छु, तपाईलाई म सबै व्रिफिङ गर्छु भनेको थिए । उहाँले यत्रो विश्वास भएपछि केही छैन भनेर भनेपछि सल्लाहले नै भएको हो । शरदयादवसँगको भेटमा उहाँ सँगै हुनु हुन्थ्यो। विदेश मन्त्री र सचिवसँगको लन्चमा हामी सँगै बस्यौ । प्रधानमन्त्री र राष्ट्रपतिसँगको कुराकानी पनि मैले व्रिफिङ गरेर अब यसरी जाने कुरा भएको छ हौ भनेर भनेको छु ।

प्रतिक्रिया