प्रचारप्रसारको अभावमा नारायणीधाम ओझेलमा

इनेप्लिज २०७२ साउन ६ गते १:१८ मा प्रकाशित

कावासोती, ६ साउन । नवलपरासीको कुमारवर्ती–९ स्थित नारायणीधाम प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

पूर्व–पश्चिम राजमार्गको डण्डाबाट सात किलोमिटर दक्षिणमा भए पनि प्रचार नपाउँदा ओझेलमा परेको नारायणीधाम गङ्गेश्वर महादेव मन्दिरका अध्यक्ष युक्तप्रसाद गौडेलले बताउनुभयो ।

नारायणीनदी र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको यस मन्दिरको दर्शन गर्न जानेहरु भए पनि प्रचार हुन नसकेको गुनासो स्थानीयवासीको हो । मन्दिरको दर्शनसँगै वनभोज खान, बस्नका लागि र नारायणी नदीमा डुङ्गा सवार गर्न, हात्ती सवार गर्ने व्यवस्थासमेत रहेको अध्यक्ष गौडेलले जानकारी दिनुभयो ।

नारायणी नदीको सुन्दरता र सँगै देखिने चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य निकै मनमोहक लाग्ने गर्दछ यसले यहाँ आउने जो कोहीलाई पनि मनमोहक बनाउँछ । साउनको महिनामा झन् यहाँ बोलबोल धामका रुपमा जल चढाउन आउनेको सङ्ख्या उल्लेखनीय हुने गरेको छ ।
माघे सङ्क्रान्ति, शिव रात्रि तथा वैशाख सङ्क्रान्तिमा यहाँ मेला लाग्ने गर्छ । धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको यो क्षेत्र २०५२ सालमा महादेवको मन्दिर निर्माण गरेसँगै धार्मिक रुपमा आस्था बोकेका मान्छे यहाँ आउने गर्दथे तर प्रचार नहुँदा महत्व भए पनि ओझेलमा परेको जिल्ला विकास समिति नवलपरासीका पूर्वसदस्य दुर्गादत्त भण्डारीले बताउनुभयो ।

जिल्ला विकास समिति, कुमारवर्ती गाविस र आजीवन सदस्यबाट प्राप्त सहयोगबाट यो धामको भौतिक पूर्वाधारको विकास भइरहेको छ । स्थानीय तहमा शीतल आमा समूह, नारायणी आमा समूह र सिर्जनशील आमा समूहबाट वनभोज खान जानेबाट रु ५०० शुल्क उठाउने गरिन्छ ।
यसको दुई भाग रकम संरक्षणको क्षेत्रमा खर्च गरिँदै आएको धाम व्यवस्थापन पक्षले जनाएको छ ।

प्रतिक्रिया