हिन्दू राष्ट्र नै कायम हुनुपर्ने सर्वसाधारणको माग

इनेप्लिज २०७२ साउन ५ गते १४:१० मा प्रकाशित

safe_image.phpकाठमाडौँ, ५ साउन । भावी संविधानमा धार्मिक स्वतन्त्रतासहितको ‘हिन्दू राष्ट्र’ कायम गर्नुपर्ने माग सर्वसाधारणले गरेका छन् ।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले क्षेत्र नं ४ अन्तर्गत वडा नं १ र ३३ का नागरिकसँग आज कमलादीमा आयोजना गरेको संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव सङ्कलन कार्यक्रममा अधिकांशले मस्यौदाको धारा ४ मा ‘धर्म निरपेक्ष’ शब्द हटाई ‘हिन्दू राष्ट्र’ कायम गरिनुपर्ने माग गरेका हुन् ।

हिन्दू सनातन धर्मावलम्बीले यो राष्ट्र निर्माण गरेका र अधिकांश जनता हिन्दू भएकाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

कुमारी तामाङलगायत केही वक्ताले भने हिन्दू बौद्ध, मुस्लिम र क्रिश्चियन भएको यस मुलुकमा सबैले स्वतन्त्ररूपमा आ–आफ्नो धर्मको रक्षा र प्रचार–प्रसार गर्न पाउनुपर्ने माग गरेका थिए ।

संविधानको प्रस्तावना भद्दा भएकाले यसलाई सरल, स्पष्ट र चुस्त बनाइनुपर्ने, मौलिक हकमा ज्येष्ठ नागरिकको सेवा र सुरक्षाको व्यवस्था हुनुपर्ने, आमाको नामबाट पनि नागरिकता लिने व्यवस्था हुनुपर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था हुुनुपर्ने उनीहरूको भनाइ थियो ।

ती वक्ताहरूले सवारी चालकको मात्र शैक्षिक यौग्यता निर्धारण गर्ने होइन सरकार प्रमुख, राष्ट्र प्रमुख र सभासद् तथा दलित, महिला र समावेशी आयोगका सदस्यहरुको पनि शैक्षिक योग्यता तोकिनुपर्ने माग गरेका थिए ।

केही व्यक्तिले सङ्घीयताको आवश्यकता नभएकामा जोड दिएपनि अधिकांशले भने यो मुलुकले आठ प्रदेश धान्न नसक्ने हुँदा चार या पाँच प्रदेश हुनुपर्नेमा जोड दिएका थिए ।

सीमाङ्कन र नामाङ्कनसहितको सङ्घीय संविधान जारी हुनुपर्ने, निर्वाचन प्रणालीमा तीनदेखि पाँच प्रतिशतसम्म ‘थे्रसहोल्ड’ राखिनुपर्ने, प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचित हुनुपर्ने, भ्रष्टाचार, बलात्कारलगायत जघन्य अपराधमा आजीवन कैदको व्यवस्था हुनुपर्ने र आपाङ्गमैत्री संविधान हुनुपर्ने माग गरिएको थियो ।

नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईले जनताबाटै राष्ट्रको निर्माण हुने र अधिकांश जनता हिन्दू भएकाले हिन्दू राष्ट्र कायम हुनुपर्नेमा जोड दिँदै मुस्लिम समुदायले पनि हिन्दू राष्ट्रमै आफ्नो धर्म सुनिश्चित हुने भएकाले हिन्दू धर्मकै पक्षमा रहेको बताउनुभयो ।

अर्थविद् प्रा डा पार्थिवेश्वर तिमल्सिनाले जनताका सुझाव संविधानमा परोस्, जनताले के–कस्ता सुझाव दिएका छन् त्यसको जानकारी गराइयोस्, स्वतन्त्रताको हक सुनिश्चित गर्ने आधार होस्, गरिबलाई निश्चित प्रतिशतसम्म कर छुट होस् भन्ने माग गर्नुभयो ।

सभासद् गगन थापाले हिजो र आज विभिन्न क्षेत्रमा आयोजना गरिएको सुझाव सङ्कलन कार्यक्रममा अधिकांश जनता हिन्दू धर्मकै पक्षमा रहेको, राष्ट्रप्रमुखदेखि सभासद्सम्मको शैक्षिक योग्यता तोकिनुपर्ने, समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने पाँच प्रतिशतसम्म ‘थ्रेसहोल्ड’ राखिनुपर्ने, सीमाङ्कन र नामाङ्कनसहितका संविधान जारी हुनुपर्ने जस्ता माग गरेका छन् भन्दै यी सुझावको अवमूल्यन हुन नदिन विस्तृत अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अर्का समासभद् डा राजन भट्टराईले ‘‘संविधानको यो मस्यौदा पूर्ण छैन, भाषागत त्रुटिलगायत संशोधन गर्नुपर्दछ, कतिपय विषयका साथै नागरिक सरोकारका विषयमा पनि छलफल गर्नुपर्ने भएकाले सुझाव सङ्कलन गरिएको हो’’ भन्नुभयो ।

अर्का सभासद् गीता क्षेत्रीले संविधानका धेरै विषयमा व्यापक छलफल भएपनि जनताले आफ्नो संविधान आफैँ बनाउन पाउने अधिकार सुनिश्चित गर्न सुझाव उपलब्ध गराउन सबैसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया