कोरला नाका खोल्न पहल

इनेप्लिज २०७२ साउन ५ गते ३:१६ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, ५ साउन । वर्षौंदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न यहाँका सरोकारवालाले पहल थालेका छन् ।

यही नाकामार्फत भविश्यमा हुने कारोबारलाई व्यवस्थित बनाउन असार पहिलो सातादेखि नेचुङ भन्सार कार्यालय पनि सञ्चालनमा आएको छ । चीन र नेपालको व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र प्रभावकारी मानिएको कोरला नाका बन्द हुँदा दुवै देशले घाटा व्यहोरिरहेको छ । नाका सञ्चालनमा आएमा पश्चिम नेपाललाई सबैभन्दा छिटो चीनसँग जोड्न सकिन्छ ।

कोरला नाकासम्म कालीगण्डकी करिडोरअन्तर्गत सडक मार्गको पहुँचसमेत पुगिसकेको छ । यही नाकाले भारतलाई पनि जोड्न सकिने भए पनि नेपाली पक्षले कूटनीतिक रुपमा कुरा अघि बढाउन नसक्दा नाका खोल्न ढिलाइ भएको हो । तिब्बतको कैलाश मानसरोवर जान यही नाकाबाट सबैभन्दा नजिक पर्छ । भारतीय भक्तजन भारतको नाथुला नाका सञ्चालनमा आएसँगै त्यसबाट मानसरोवर जान थालेका छन् ।

व्यापारिक र धार्मिक दृष्टिकोणले समेत नाका खोल्न आवश्यक रहेको त्यहीअनुसारले केन्द्रमा पहल भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।

“यहाँ हामीले पहिलो चरणमा भन्सार कार्यालय सञ्चालन ग¥यौँ, सभासद्हरुको टोलीसहित हामीले विभिन्न चरणमा परराष्ट्र मन्त्रालयदेखि थुप्रै निकायमा छलफल गरेका छौँ, प्रजिअ बरालले भन्नुभयो, “अब छिट्टै सकारात्मक नतिजा आउनेछ ।”
उहाँका अनुसार चीन सरकार पनि नाका खोल्न र त्यसबाट दुई देशलाई व्यापारिक हित हुन्छ भन्ने कुरामा सहमत छ । नाका खुलेमा त्यसबाट सबैभन्दा बढी फाइदा नेपाललाई हुने भएकाले त्यसमा ढिला गर्न नहुने जिल्लाका पर्यटन व्यवसायी, उद्योगी व्यवसायी र अन्य सरोकारावाला निकायको भनाइ छ । बन्द रहेको नाका खोल्न विषयमा केन्द्रीय तहमा आन्तरिक तयारी भइरहेको नेचुङ भन्सार कार्यालयका प्रमुख धर्मराज सुवेदीले जानकारी दिनुभयो । “भन्सार कार्यालयलाई पनि व्यवस्थित बनाउँदैछौँ, नाका खोल्न तयारी पनि छ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया