रौतहटमा शौचालय निर्माण अभियान तीव्र

इनेप्लिज २०७२ साउन ५ गते २:१८ मा प्रकाशित

cartoon-toilet-1रौतहट, ५ साउन । जिल्लामा शौचालय निर्माण अभियान तीव्र गतिका साथ अगाडि बढिरहेको सरोकारवाला सङ्घसंस्थाले जनाएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले विभिन्न गैरसरकारी संस्थाको समन्वयमा आव २०६९/०७० देखि सञ्चालन गरेको खुला दिसामुक्त अभियानका क्रममा शौचालय बनेको हो ।

सो समितिका स्रोत व्यक्ति मुस्ताक आलमका अनुसार तीन नगरपालिकासहित ८४ गाविस रहेको यस जिल्लामा सात वटा गाविसलाई मात्र हालसम्म खुला दिसामुक्त घोषणा गरिएको छ ।

बाँकी रहेका गाविस र नगरपालिकामा विभिन्न ११ वटा गैरसरकारी संस्थाले शौचालय निर्माणका लागि सहजीकरण गर्दै आएका छन् । सो समितिले गत वर्षदेखि सरकारी कामकाजका लागि सरसफाइ परिचयपत्र अनिवार्य गरेपछि शौचालय निर्माण अभियानले तीव्रता पाएको हो ।

कुल जनसङ्ख्या छ लाख ८६ हजार रहेको जिल्लामा एक लाख छ हजार ६६८ घर रहेका छन् । त्यसमा पनि ४० हजार घरमा मात्रै शौचालय रहेको समितिले जनाएको छ । सरसफाइको पहुँचको आधारमा ७५ जिल्लामध्ये रौतहट ७३ औँ स्थानमा रहेको छ ।

जिल्लामा सरकारको लक्ष्यअनुरुप खुला दिसामुक्त क्षेत्र घोषणा गर्न विभिन्न प्रयास सक्रियताका साथ भइरहेको साझेदार संस्था जनसेवा नेपालका कार्यक्रम अधिकृत भाग्यनारायण महतोले बताउनुभयो ।

प्रतिक्रिया