दुई सय ५० डलर तिरेर लुम्बिनीमा बोधिवृक्ष रोपण

इनेप्लिज २०७२ साउन ५ गते २:०४ मा प्रकाशित

लुम्बिनी (रुपन्देही), ५ साउन । राष्ट्रियस्तरका नेताले आफ्नो जन्म दिन कसरी मनाउलान ? धेरैको अनुमान हुन्छ भोज भतेर र मान्छे जम्मा गरेर मनाउने गर्दछन् । तर पूर्व शिक्षामन्त्री एवम् एनेकपा माओवादी नेता दीनानाथ शर्माले भने यस पटक आफ्नो जन्मदिन फरक शैलीले मनाउनुभएको छ ।

उहाँले आफ्नो जन्मदिन शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा बोधिवृक्ष रोपेर मनाउनुभएको छ । पवित्र भूमि लुम्बिनीबाट सकारात्मक मार्गमा हिँड्न सधैँ प्रेरणा मिल्ने भन्दै उहाँले सोमबार एक विशेष कार्यक्रमका साथ बोधिवृक्ष रोप्नुभएको हो ।

राजनीतिसँगै पछिल्लो समय लेखन तथा साहित्य क्षेत्रमा समेत बढी रुची राख्दै आउनुभएका शर्मा सोमबार ७० वर्षमा प्रवेश गर्नुभएको अवसरमा २५० डलेर तिरेर लुम्बिनीमा वृक्षरोपण गर्नुभएको हो ।

नेता शर्माले विगतमा आफू लुम्बिनीमा आउँदा तथा श्रीलङ्का भम्रणका क्रममा बोधिवृक्ष रोप्ने प्रेरणा मिलेको बताउनुभयो । लुम्बिनी संसारका जनताका लागि ज्ञानको केन्द्र भएको चर्चा गर्दै उहाँले विचार दर्शन र भावनासँग जोडिएको वुद्ध जन्मभूमिको विकासमा सबै लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

लुम्बिनीको महत्व झनझन बढ्दै गएको चर्चा गर्दै उहाँले यहाँको महत्वलाई संसारभर फैलाउन सबैलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले पनि २५० डलर तिरेर बोधिवृक्ष रोप्नुभयो ।

सो अवसरमा उहाँले बोदीवृक्षको महत्व धेरै रहेको उल्लेख गर्दै लुम्बिनी गुरुयोजनाअन्तर्गत बोधिवृक्ष रोप्ने कामलाई निरन्तरता दिइएको बताउनुभयो ।

यस किसिमका कार्यक्रमबाट लुम्बिनी क्षेत्रको विकास तथा बौद्ध दर्शन तथा ज्ञानलाई जताततै फैलाउन थप टेवा पुग्ने उहाँले बताउनुभयो ।

सागर भन्तेले बोधिवृक्ष ज्ञानको प्रतीक रहेको चर्चा गर्दै बुद्धको ज्ञानलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

वुद्ध जन्मभूमि लुम्बिनीमा लुम्बिनी गुरुयोजनाअनुरुप विशिष्ट खालका व्यक्तित्वबाट बोधिवृक्ष रोप्नका लागि सःशुल्क व्यवस्था गरिएको छ । सोहीअनुरुप नेता शर्माले आफ्नो ७०औँ जन्मदिन पारेर लुम्बिनीमा बोधिवृक्ष रोप्नुभएको हो ।

सो बोधिवृक्षलाई परिवारका सदस्य तथा उहाँका शुभचिन्तकले पछिसम्म स्मरण गर्न सक्नेगरी संरक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया