विद्यार्थी बढाउन र टिकाउन बीस लाखको अक्षयकोष

इनेप्लिज २०७२ साउन ५ गते २:०२ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ५ साउन । म्याग्दीको एक सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्ने र टिकाइ राख्ने उद्देश्यले रु २० लाखको अक्षयकोष स्थापना गरिएको छ ।

बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत प्राविमा नियमित विद्यालय उपस्थित हुने विद्यार्थीलाई प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था गर्न अक्षयकोष स्थापना गरिएको हो ।

गलेश्वरमा जन्मिएर हाल बेलायतमा कार्यरत मोना युकेका महासचिव समेत रहेका खिम शेरचनले अक्षयकोषमा आर्थिक स्रोत जुटाउन सहयोग गर्नुभएको छ । अक्षयकोषको ब्याजबाट विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीलाई मासिक रु २०० का दरले छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

हाल ३५ जना अध्ययनरत उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने, भर्ना भएकालाई टिकाउने र शैक्षिक उपलब्ध वृद्धि गराउन कोषमार्फत छात्रवृत्तिको व्यवस्था गर्न लागिएको हो ।

अक्षयकोष स्थापनाका लागि बेलायतको ‘ससेस हाउस स्कुल चेल्सी एस डब्लु वान एक्स वइए’ मा अध्ययनरत विद्यार्थीका अभिभावकले आर्थिक सहयोग गर्ने शेरचनले बताउनुभयो ।

जडभरत प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पुनले शेरचनको सो सहयोगले आफूहरुलाई हौसला मिलेको बताउनुभयो । शेरचनले व्यक्तिगत सहयोगमा विद्यालयमा खेलकुदका सामग्री उपलब्ध गराउनुभएको छ ।

प्रतिक्रिया