सीमाङ्कन र नामाङ्कनको विषय टुङ्गाएर संविधान जारी गर्न सुझाव

इनेप्लिज २०७२ साउन ४ गते २:०६ मा प्रकाशित

बनेपा, ४ साउन । नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाको छलफलमा भाग लिँदै स्थानीय बासिन्दाले स्थानीय निकायलाई जनप्रतिनिधिविहीन हुन नदिने संयन्त्रको विकास गरी नयाँ संविधानमा उल्लेख गर्नुपर्ने सुझाव दिएका छन् ।

आइतबार धुलिखेलमा भएको मस्यौदामाथिको छलफलमा धुलिखेलका बुद्धिसागर श्रेष्ठले लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीनको अवस्थामा रहँदा त्यसले विकास निर्माणका काम प्रभावकारी हुन नसकेको तर्क गर्दै वडाध्यक्षसमेत प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्नुभयो ।

धुलिखेलका श्याम परियारले अघिल्लो संविधानसभाले स्वीकार गरेका दलित समुदायका विषयलाई हुबहु ल्याउनुपर्नेमा जोड दिँदै प्रादेशिक तहमा दलित समुदायको पाँच प्रतिशत सहभागिता हुनुपर्ने धारणा राख्नु भयो ।

काभ्रेपलाञ्चोकका कपिणमणि हुमागाईंले बौद्धिक अपाङ्गताका लागि आयोग गठनमा जोड दिँदै गाउँपालिका र नगरपालिकामा अपाङ्गको सहभागिता आवश्यक भएको सुझाव दिनु भयो ।

कासीखण्ड नगरपालिकाका सञ्जीव ढकालले बलात्कारी, भ्रष्टचारी र अपहरणकारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्नुभयो । नेकपा (एमाले)का अशोक व्याञ्जुले राष्ट्रियता पहिचान गरेर मात्रै नागरिकता वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाओवादीका दीनानाथ गौतमले प्रदेशका विषयमा सीमाङ्कन र नामाङ्कनको विषय टुङ्ग्याएर मात्रै संविधान जारी गर्न आग्रह गर्नुभयो । धुलिखेलका सुमन श्रेष्ठले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राज्य कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल शिक्षक परिषद्का खड्गप्रसाद सापकोटाले सीमाङ्कन र नामाङ्कनको विषय टुङ्ग्याएर संविधान जारी गर्न आग्रह गर्दै शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाउन आग्रह गर्नुभयो ।

शिक्षक दुर्गासिंह तामाङले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनपर्नेमा जोड दिँदै पूर्ण समानुपातिक निर्वाचान प्रणाली आवश्यक भएको तर्क गर्नुभयो ।

काभ्रेपलाञ्चोकका विष्णु काभ्रेलीले मुलुक कृषि प्रधान भएकाले कृषकका लागि छुट्टै कृषि आयोग बनाउनुपर्नेमा जोड दिनुभयो । सभासद् विदुर सापकोटाले जनताको अपनत्व महसुस हुने गरी नयाँ संविधान जारी हुने उल्लेख गर्दै दुर्गम बस्तीका लागि रेकर्ड गर्ने र आफ्ना भनाइ राख्नका लागि संयन्त्रको विकास गरिएको छ भन्नुभयो ।

जनसहभागिता कम रहेको सुझाव सङ्कलन कार्यक्रममा काभ्रेपलाञ्चोकका सभासद्हरु रामहरि सुवेदी, तीर्थ लामा, कमला दोङ सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया