तथ्याङ्क बोल्छ: पाँच हजार २७६ जना नेपाली मात्रै बेरोजगार !

इनेप्लिज २०७२ साउन ३ गते १५:१३ मा प्रकाशित

काठमाडौँ, ३ असार । देशमा बेरोजगारको सङ्ख्या उल्लेख्य मात्रामा रहेपनि सरकारी तथ्याङ्कले भने जम्मा पाँच हजार २७६ जना नेपाली मात्रै बेरोजगार रहेको देखाएको छ ।

आर्थिक वर्ष २०७१÷०७२ को मन्त्रालयगत प्रगति विवरणअनुसार श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रोजगार सूचना केन्द्रहरुबाट जम्मा पाँच हजार २७६ जना बेरोजगारको तथ्याङ्क संकलन गरिएको जनाइएको छ ।

राष्ट्रिय रोजगार नीति, २०७१ तयार भएपछि गत वर्ष चैत १५ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत भएको प्रगति विवरणमा उक्त कुरा उल्लेख छ ।

सीप विकास तालिम केन्द्रले वैदेशिक रोजगारीमा जाने र स्वदेशमा काम गर्ने व्यक्तिलाई लक्षित गरी आधारभूत तथा सीप अभिवृद्धि र महिला आवासीय तालिम गरी चार हजार ६१० र स्नातक तालिमसमेत गरी नौ हजार ८२५ जनालाई तालिम दिएको प्रगति विवरणमा उल्लेख छ ।

नेपालीहरु वैदेशिक रोजगारीमा जाने गन्तव्य मुलुकमध्ये कतार, जापान, दक्षिण कोरिया, बहराईन र दुवई (यु्एई) सँग श्रम सम्झौता भइसकेको तथा मलेसिया, साउदी अरब, कुवेत, ओमन र ईजरायलमा श्रम सम्झौताको लागि मस्यौदा तयार भइसकेको पनि मन्त्रालयले तयार पारेको प्रगति विवरणमा उल्लेख छ ।

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत तीन वटा ऐन तयार भएपनि पारित हुन भने सकेका छैनन् ।

श्रम ऐन र एकीकृत सामाजिक सुरक्षा ऐनको मस्यौदा तयार भई सम्पादनको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलका क्रममा रहेको श्रम मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउन वैदेशिक रोजगार ऐनको मस्यौदा तयार भइरहेको छ । श्रम बैंकको स्थापना गर्न आवश्यक कानुन निर्माणको लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मस्यौदामाथि अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिका लागि अनुरोध गरिएकामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसारनै श्रम बैंकको स्थापना गर्ने भनी राय आएको प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया