बेल्जियमको इपरमा गोर्खा स्मारक अनावरण

इनेप्लिज २०७२ साउन ३ गते २:३४ मा प्रकाशित

काठमाडौँ, ३ साउन । बेल्जियमको इपर सहरको मुख्य स्मारक मेनिनगेटमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट निर्माण गरिएको गोर्खा स्मारकको अनावरण गरिएको छ ।

बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल र इपर नगरपालिकाका कावा मेयर जेफ भरस्कोरले गोर्खा सैनिकको सम्झनामा निर्मित स्मारकको सामूहिक रुपमा अनावरण गर्नुभएको बेल्जियमस्थित नेपाली दूतावासले जनाएको छ । बेल्जियमस्थित नेपाली दूतावासको अनुरोधमा नेपाली कलाकार पञ्चरत्न डङ्गोलले तयार गरेको २.५ फिट अग्लो गोर्खा सैनिकको प्रतिमा १.७५ मिको ढुङ्गामा निर्मित स्तम्भमा स्थापना गरिएको छ ।

प्रथम विश्वयुद्धमा इपरको युद्धमैदानमा मृत्युवरण गरेका गोर्खाली सैनिकको सम्झना र सम्मानमा कमनवेल्थ वार ग्रेभस् कमिसन (सिडब्लुजीसी) सँगको सहकार्यमा स्मारक स्थापना गरिएको हो । युरोपेली मुलुक बेल्जियम र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको पचास वर्ष पूरा भएको अवसरमा दूतावासले सम्पन्न गरेका विभिन्न कार्यक्रमअन्तर्गत सो स्मारकको स्थापना पनि एक हो ।

अनावरण समारोहमा नगरपालिकाका पदाधिकारी, बेल्जियमका लागि बेलायती राजदूत एलिसन रोस, सिडब्लुजिसीका पश्चिम युरोप निर्देशक रिचार्ड निक्होल, ऐप्रेस भेटेरान एसोसिएसनका अध्यक्ष रेने डिक्लेर्क, बेल्जियम एयर फोर्सका कमान्डर फिलिप बोरेमान्स् र वेस्ट फ्लान्डर्स प्रान्तका सैनिक कमान्डर क्रिस्टोफ ओनरेट, नेपाली दूतावास बेल्जियमका कर्मचारी एवं बेल्जियमस्थित नेपाली समुदायका पदाधिकारी तथा प्रतिनिधि, बेल्जियमका लागि नेपालका अवैतनिक वाणिज्यदूतलगायतको सहभागिता थियो ।

सो अवसरमा नेपाली राजदूत पोखरेलले स्मारक निर्माणका लागि स्थान उपलब्ध गराएकामा इपर नगरपालिकालाई तथा स्मारक निर्माणमा सहकार्य तथा संयोजन गर्न सहयोग गर्ने सिडब्लुजीसीलाई धन्यवाद दिँदै दुई देशबीच जनस्तरमा रहेको आपसी घनिष्ठता स्मारकको स्थापनाले थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कावा मेयर भरस्कोरले नेपालमा गएको भूकम्पले पु¥याएको जनधनको क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको बताउदै नेपाल र नेपालीप्रति सद्भाव र सहानुभूति प्रकट गर्नुभयो ।

प्रतिक्रिया