ओली प्रधानमन्त्री बन्ने सहमति भएको छैन, म पनि हुनसक्छु

इनेप्लिज २०७२ साउन १ गते १०:१८ मा प्रकाशित

ramchandra-poudeljpgपछिल्लो समयमा संविधान निर्माणको बेला भएको १६ बुँदे सहमति भन्दा फरक ढंगले सीमांकनसहितको संविधान जारी गर्नु पर्ने भनाई सार्वजनिक गर्दै आएका नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग संविधान निर्माण र सरकार गठन लगायतका विषयमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी

१६ बुँदेबाट सुरु भएको संविधान निर्माणको यात्रामा दरार पैदा भएको हो ?
त्यस्तो भएको छैन । सीमांकनको कुरा आउँदैमा दरार आयो भन्न मिल्दैन । सीमांकन प्राविधिकहरुलाई जिम्मा दिएर अरु काम गर्दै जाऔ भनेको हो । अहिले सम्भव हुन्छ भने अहिले पनि गर्न सकिन्छ । त्यसलाई कुनै अवरोधको रुपमा मान्नु हुँदैन ।

अहिले संविधानसभाबाटै सीमांकन टुङग्याउन सकिन्छ ?
सीमांकनको विषय त्यती धेरै ठूलो विषय होईन । संघीयताको विषयमा हाम्रो धारणा अलि खुल्ला हुनु पर्छ । हामीले जनतालाई बढी भन्दा बढी अधिकार सम्पन्न गराउने हो । केन्द्रीकृत शासन प्रणालीलाई हामीले विकेन्द्रीत गर्ने हो र तल्लो तहसम्मको जनतामा अधिकार पुर्याउने हो । अहिले कुरा गरिरहेका छौ, कुरा मिल्यो भने सीमांकन सहितको संविधान जारी गर्न सकिन्छ भन्ने गरौ भन्ने छ ।

नेपाली काग्रेसको आधिकारीक धारणा हो ?
यो नेपाली काग्रेसको भन्दा पनि मेरो धारणा हो । सीमांकन टुङग्याएरै जाँदा राम्रो हुन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि संविधानसभा विघठन गर्नु पर्छ भनेर भन्नु भएको छ नि ?
यो अन्तरिम संविधानको ब्यवस्था हो । अहिले संविधान बनिरहेको छ । त्यसले अन्तरिम ब्यवस्था के गर्छ त्यो गर्न बाँकी नै छ । हामी त्यसमा पनि विचार गर्न सक्छौ । संघीयता हामी सबैको राष्ट्रिय प्रतिबद्धता भईसकेको छ । संघीयताको विषयमा अब कसैले द्धिविधा राख्न जरुरी छैन । काग्रेसमाथि पनि शंका गर्नु पर्दैन । ६ प्रदेशसहितको संघीयता बनाउँदा पनि उहाँहरुले नेपाली काग्रेसलाई आशंका गर्नु भयो । ७ प्रदेश भन्दा पनि आंशका गर्नु भयो । त्यती बेला हाम्रा कुराहरुलाई मिलाएर जाउ भन्दा पनि एक्स्ट्रीममा जानु भयो र संघीयता विरोधी काग्रेस भन्नु भयो अहिले सिमांकन बाहेकको संविधान जारी गर्ने बाध्यता उहाँहरु आफैले सीर्जना गर्नु भयो । काग्रेसलाई संघीयता विरोधी भनेर उहाँहरुले गल्ती गर्नु भएको छ ।

काग्रेसले बुहलबाद , धार्मिक स्वतन्त्रता किन छाडेको ?
काग्रेसले बहुदवाद छाडेको छैन । शासकीय स्वरुपमा बहुदलवादमा आधारित संसदीय लोकतान्त्रिक प्रणाली भनेर किटानी साथ लेखिएको छ । प्रस्तावनामा पर्यो परेन भन्दा पनि संविधानमा पर्यो परेन भन्ने कुरा महत्वपूर्ण हो । धार्मिक स्वतन्त्रालाई पनि हामीले छाडेको छैन । धर्म निरपेक्षता अहिले पनि बहसको विषय छ । काग्रेस यो मस्यौदामा चुकेको छैन ।

संविधान साम्यबादतिर उन्मुख हुने खतरा पनि छ नि ?
शंकै शंका गर्यो भने त केही हुँदैन । नेपाली जनताको चाहना विपरिता जान सक्ने कसैको ताकत छैन ।

लोकतान्त्रिक मुल्य मान्यतामाथि बज्रपात गर्नु भयो भन्ने आरोप छ नि ?
२०४६ र ६२–६३ मा जनताको जुन भावना अभिब्यक्त भयो । त्यसैमा कम्यूनिष्ट पार्टीहरु पनि आउनु परेको छ । संसदीय पद्धतिलाई अंगिकार गर्ने विन्दुमा सबै आईपुगेको अवस्था छ । त्यसैले फेरि यता जान्छ कि उता जान्छ कि भनेर तर्क वितर्क गर्नु आवश्यक छैन । सहमतिको कुरामा आफ्नो कुरामा अलिकति कम्परमाईज गर्नै पर्छ । तर मुल मर्म लोकतन्त्र हो, यसको प्रयोग संसदीय प्रणालीबाट गर्ने कुरा भएकोले यसमा सम्झौता गरिएको छैन ।

संविधान राम्रो छ त ?
सम्झौता गर्दा खेरी केही मिसावट भएको छ । सम्झौताको दस्तावेजमा आफैले भनेको जस्तो सबै कुरा सर्लक्कै पर्दैन । यो पछि परिमार्जित हुँदै जान्छ । जनमतबाट पनि केही सुझाव आउँछ त्यसलाई संबाद समितिमा लगेर छलफल गछौ । यो मस्यौदा जनताको सुझाव अनुसार परिमार्जित हुँदै जान्छ ।

प्रेस स्वतन्त्रताको कुरामा तपाईहरु चुक्नु भयो ?
होईन, प्रेस स्वतन्त्रताको कुरामा हामी चुकेका छैनौ । हामी प्रेस स्वतन्त्रताको पक्षमा छौ । संविधानमा हामी मनग्यै प्रेस स्वतन्त्रता हुने गरी ब्यवस्था राख्छौ ।

संविधान जारी भएपछि राष्ट्रिय सहमतिको सरकार बन्छ ?
हो, अरु पनि पार्टीलाई सरकारमा मिसाएर सरकार बनाउने हो ।

सुशील कोइरालाकै नेतृत्वमा सहमतिको सरकार बन्छ ?
अहिले पाँच वटै पदमा नयाँ चुनाव गर्ने कुरा भएको छ । त्यो बेला के लेनदेन हुन्छ त्यसमा भर पर्छ । यो विषयमा अहिलेसम्म सहमति भएको छैन । बाहिर आए जस्तो सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैन ।

संविधान जारी भएपछि काग्रेसले फेरि नेतृत्वको दावी गर्न सक्छ ?
सक्छ । काग्रेसले दावी गर्छ । म नै दावी गर्छु ।

भनेपछि तपाईको नेतृत्वमा सरकार बन्न सक्छ ?
हो, त्यो सम्भावना छ । सबै पार्टी मिलेको वा बहुमत पार्टी मिलेको सरकार मेरो नेतृत्वमा बन्न सक्छ ।

एमालेलाई बाहिर राखेर एमाओवादी र मधेसवादीसँग गठबन्धन निर्माण गर्दै हुनु हुन्छ ?
यो विषयमा हामीले सोचेका छैनौ । एमालेलाई बाहिर वा भित्र राख्ने, कसलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति भएको छैन । पहिला नै हामीले सात बुँदेमा सहमति गरिसकेको विषय अहिले ईण्डोर्स गरेका छौ । संविधान जारी गरेपछि सबैले पद छाड्ने र पछि दोहोरिन पनि सक्नु हुन्छ । केपी ओली अहिले नै प्रधानमन्त्री बनिसक्नु भयो भन्ने होईन ।

प्रतिक्रिया