नहर नै जोखिममा पर्दै

इनेप्लिज २०७२ असार ३१ गते २:०६ मा प्रकाशित

रौतहट, ३१ असार । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहटतर्फको नहर प्रणालीको शाखा नहरमा लामो समयदेखि भइआएको अवैध बसोबास र अतिक्रमण हटाउन आयोजनाले कुनै पहल नगर्दा नहर नै जोखिममा पर्दै गएको छ ।

बागमती सिँचाइ आयोजनाअन्तर्गतको पश्चिमखण्डको मुख्य नहर प्रणालीमा धमाधम घर बनाउने कार्य केही वर्षदेखि रोकिएको छैन । घर निर्माण गर्ने तथा नहरको डिलमा सम्याएर खेती गर्ने क्रम नरोकिएपछि आवागमनमा अवरोध उत्पन्न हुनुका साथै कृषियोग्य जमिन सिञ्चित गर्न र नहरकै सफाइ गर्न समस्या हुँदै आएको छ ।

रौतहटतर्फको मुख्य नहर प्रणाली र प्रशाखा नहरको डिलमा करिब एक सय घरटहरा निर्माण भई बसोबास हुँदै आएको छ । बागमती सिँचाइ आयोजनाको अधीनमा रहेको क्षेत्रमा अवैध तवरले घरटहरा बनाउने, अनि बिक्री गर्ने र खेती गर्ने कार्य केही वर्षदेखि निरन्तर जारी रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

मुख्य नहर प्रणालीलाई अतिक्रमणबाट मुक्त पार्न आयोजनाले हालसम्म कुनै पहल नगरेको स्थानीय बासिन्दा विश्वनाथ चौधरीले बताउनुभयो । करिब २६ वर्ष पुरानो सो आयोजनाको नहरमा बसेका बस्तीका कारण नहर पुरिने क्रम निरन्तर जारी रहेको छ । बागमती सिँचाइ आयोजनाका डिभिजनल इन्जिनियर चन्द्रभुषण दत्तले नहर अतिक्रमण समस्या वर्षौंदेखि रहेकाले हटाउन विशेष तयारी भइरहेको बताउनुभयो ।

सर्लाही तथा रौतहटको करिब ३७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको बागमती सिँचाइ आयोजनाले समयमा नै नहरको मर्मतसम्भार नगर्नाले पानी सञ्चालन गर्न ढिला भई सोचेजस्तो कृषि फसलबाट आम्दानी लिन कृषकले सकेका छैनन् ।

प्रतिक्रिया