बजेटमाथिको सामान्य छलफल पूरा

इनेप्लिज २०७२ असार ३० गते १४:२२ मा प्रकाशित

Rss_Images_1436943180119_Pro_Ktm_ Dr ramsaran mahat intractionकाठमाडौँ, ३० असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सकिएको छ ।

सामान्य छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको भोलि अर्थमन्त्री महतले जवाफ दिनुहुने कार्यक्रम छ ।

यसअघि व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रतिपक्षी दलका सांसदले प्रस्तुत बजेट परम्परागत शैलीमा ल्याइएको तथा भूकम्प र सङ्क्रमणकालीन राजनीतिलाई सम्बोधन गर्न चुकेको बताउनुभयो ।

आव २०७२÷७३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उहाँहरुले बजेटले देशको आर्थिक क्रान्तिमा जोड नदिएकाले असन्तुलनकारी देखिएको, श्रम शक्तिको पलायनलाई रोक्न नसकेको तथा निर्वाचन क्षेत्रमा विनियोजन गरिएको बजेट असमान भएको भनी सरकारको आलोचना गर्नुभएको थियो ।

सरकारमा रहेकै दलको पृष्ठपोषण हुने गरी ल्याइएको बजेट समावेशीभन्दा पनि पार्टीकरण भएको, आर्थिक निर्भरताभन्दा परनिर्भरमुखी भएको, घाटामा गएका संस्थानलाई सेवामुखी र नाफामुखी बनाउन ध्यान नदिइएको, मुस्लिमको मदर्साको शिक्षाको विषयमा बजेटमा सम्बोधन नभएको, जनयुद्धका सहिदलाई बेवास्ता गरिएको, बजेट विनियोजनमा प्रत्यक्ष र समानुपातिक सांसदहरुबीचमै विभेद गरिएको, झोला बोकेर योजना आयोग र अर्थ मन्त्रालयमा धाउने सांसदको क्षेत्रमा मात्र बढी बजेट विनियोजन भएको उहाँहरुको भनाइ थियो ।

पहिलेदेखिनै नामकरण भएको ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’लाई बजेट प्रस्तुत गर्दा पुष्पलालको नाम हटाइएकामा सत्ता पक्षकै नेकपा (एमाले)का नेताहरूले आपत्ति जनाउँदै आफूहरुका लागि बजेट ‘निल्नु न ओकल्नु’ जस्तो भएको बताउनुभयो ।

काठमाडौँ–तराई जोड्ने द्रुतमार्गलाई छुट्याइएको बजेट ज्यादै न्यून भएको तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीलाई अरु दलका सामान्य नेताको कोटीमा राखेर बजेट विनियोजन गरिएको भनी आक्रोश व्यक्त गर्नुभयो ।

वक्ता सांसदहरुले युवा वर्गलाई रोजगरमूलक तालिम दिनुपर्ने, कृषि तथा पशु विकासमा ध्यान दिनुपर्ने, बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा चुरे संरक्षणमा जोड दिइनुपर्ने, तराई क्षेत्रमा क्रिकेट खेलको अन्तर्राष्ट्रिय मैदान बनाइनुपर्ने, हुलाकी राजमार्गका लागि बजेट बढाइनुपर्ने, कर्णालीलाई जैविक खेती क्षेत्र घोषणा गरिनुपर्ने, स्नातक उत्तीर्ण भएका बेरोजगार युवालाई भत्ता उपलब्ध गराइनुपर्ने माग गर्नुभयो ।

जलाशययुक्त ऊर्जा विकासमा जोड दिनुपर्ने, बर्दियामा कपास विकास समितिको नाममा रहेको जमिनलाई कृषि विकासमा प्रयोग गरिनुपर्ने, भूउपयोगको नीति ल्याउनुपर्ने, राष्ट्रसेवक कर्मचारीको तलबवृद्धि गर्नुपर्ने उहाँहरुले सुझाव दिनुभयो ।

सत्तापक्ष नेपाली काँग्रेसका सांसदले प्रस्तुत बजेटले सबै तह, तप्का र पक्षलाई समेटेको हुँदा अत्यन्त सकारात्मक छ भन्दै यसको प्रभाकारी कार्यान्वयन पक्षमा ध्यान दिनसके मुलुकको आर्थिक विकासमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।

उपत्यका बाहिर पनि अस्पताल स्थापनाका लागि बजेटले जोड दिएको, हिमाल, पहाड र तराईलाई सन्तुलित हुने गरी बजेट ल्याइएको, प्रत्येक गाउँमा सडक पुर्‍याउने र प्रत्येक गाउँमा एक–एक चिकित्सक राख्ने बजेटको सकारात्मक पक्ष भएको उहाँहरुको भनाइ थियो ।

बजेटमाथिको छलफलमा सांसद दलजीत विके श्रीपाली, राजु खनाल, विद्यादेवी भण्डारी, रामकुमार भट्टराई, गौरी शङ्कर चौधरी, राजेन्द्रकुमार केसी, धर्मेन्द्रकुमार साह तेली, सुशीलकुमार श्रेष्ठ, अनिता देवकोटा, बलराम अधिकारी, मोहम्मद जाकी हुसेन, अब्दुल रजाक सिद्धीकी, अम्मरबहादुर थापाले भाग लिनुभएको थियो ।

त्यस्तै, परशुराम तामाङ, अमनलाल मोदी, पाँचकर्ण राई, प्रेमबहादुर आले, रेशमबहादुर बानियाँ, निशाकुमारी साह, प्रकाश ज्वाला, शक्तिबहादुर बस्नेत, रवीन कोइराला, रामहरि खतिवडा, हितराज पाण्डे, शारदा पौडेललगायतले बजेटमाथिको सामान्य छलफलमा भाग लिनुभएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया