संविधानको मस्यौदा २०६४ सालको संविधान भन्दा फरक हो: महासचिव पोखरेल

इनेप्लिज २०७२ असार ३० गते १४:१२ मा प्रकाशित

ishwar-pokhrelकाठमाडौँ, ३० असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको प्रारम्भिक मस्यौदालाई २०६४ सालको संविधानको भाग–२ का रुपमा नलिन जनतालाई आग्रह गर्नुभएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘संविधानको प्रारम्भिक मस्यौदामा उपभोक्ताको हकसम्बन्धी छलफल’ कार्यक्रममा अघिल्लो संविधानमा लेखिएका केही अंश प्रस्तावित संविधानमा समावेश गरिएपनि धेरै कुरामा फरक रहेको स्पष्ट गर्नुभयो ।

महासचिव पोखरेलले उपभोक्ता हितसम्बन्धी आन्दोलनलाई सफल बनाउन सबै सरोकारवाला एक हुनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता एवम् संविधानसभा उपभोक्ता हित सम्बद्र्धन समितिका सभापति भीष्मराज आङ्देम्बेले उपभोक्तासम्बन्धी धेरै ऐन कानुन बनेपनि यसलाई संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले गुणस्तरीय वस्तु प्रयोग गर्नु जनताको अधिकार भएकाले विषादी मिसाइका खाद्यवस्तु बिक्री गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् उपभोक्ता संरक्षण तथा सुशासन विभागका प्रमुख घनेन्द्र बस्नेतले उपभोक्ता अधिकार प्राप्तिका लागि सङ्घर्षको खाँचो औँल्याउनुभयो ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले मानव अधिकार आयोगमा भएपनि उपभोक्ता संरक्षण हितको मुद्दालाई समेट्न आग्रह गर्नुभयो ।

एमालेका सभासद् गणेश पहाडी, मञ्चका पूर्व अध्यक्ष डा सुन्दरमणि दीक्षितलगायतले दण्डहीनताको अन्त्य नभएसम्म उपभोक्ताले न्याय नपाउने बताउनुभयो ।

प्रतिक्रिया