स्कुटर चोरी गर्ने गिरोहका नाइके पक्राउ

इनेप्लिज २०७२ असार ३० गते ४:४९ मा प्रकाशित

scooter 1पोखरा, ३० असार । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको नगर क्षेत्रका विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ ।

स्कुटर चोरी गरी फरार बागलुङ जिल्लाको मल्म गाविसका २१ वर्षीय सञ्जय विकलाई प्रहरीले रुपन्देहीको देवदहबाट मङ्गलबार पक्राउ गरेको हो । निजले चोरी गरेका स्कुटरमा अर्कै नम्बर प्लेट राखी सो को ब्ल्युबुकमा अर्कै मानिसको फोटो टाँसेर बेचबिखन गर्दै आएको प्रहरीले जनाएको छ ।

स्कुटर चोरीका घटनामा वृद्धि हुन थालेपछि चोरीमा संलग्नलाई पक्राउका लागि कार्यालयबाट छुट्टै टोली बनाई खोजतलास सुरु गरिएको हो । अभियुक्तले गत वर्षको फागुन २४ गते ग१०प ७६२ नम्बरको स्कुटर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गएको जेठ ११ गते ग७प ६३२९ नम्बरको स्कुटर पोखरा–१५ सीताराम हाउजिङ र ग८प ७८६१ नम्बरको स्कुटर पोखरा–७ साङ्ग्रिला मार्गबाट चोरी गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया