जोखिमपूर्ण अवस्थाका सिमलका रूख कटानमा फुकुवा

इनेप्लिज २०७२ असार ३० गते २:३४ मा प्रकाशित

2012-07-26-1343277788इलाम, ३० असार । लोपोन्मुख पक्षी गिद्धको संरक्षणका लागि सिमलको रूख काट्न नपाइने नियमलाई केही खुकुलो बनाइएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिको सुखानीमा सम्पन्न बैठकले जनधनको क्षति हुने अवस्थामा भएका सिमलका रूख प्राविधिक टोलीले अध्ययन गरी काट्न दिने निर्णय गरेको हो । तर यस्तो काटिएका रूख भने व्यापारिक प्रयोजन वा निकासीमा भने लान नपाइने बताइएको छ ।

यसअघि सिमलको रूख काट्न जिल्लामा समन्वय समितिले प्रतिबन्ध लगाएपछि धेरैले यसलाई अवस्था विश्लेषण गरी पुनः मूल्याङ्कन गर्नुपर्ने बताउँदै आएका थिए ।

जिल्ला वन अधिकृत तीर्थराज जोशीले कार्यालयमा सिमलका रूखले धेरै जनधनको क्षति हुने अवस्था आएकाले हटाइपाऊँ भनी निवेदन आइरहेको र धेरै घरका छेउमा भएका रूखले जोखिम निम्त्याएकाले सिमलका रूख अवस्था हेरेर काट्न मिल्ने गरी बैठकमा प्रस्ताव राख्नुभएको थियो । सिमलको रूख मासिन थालेपछि लोप हुन लागेको गिद्धसमेत मासिने भएपछि जिल्ला वन कार्यालयले सिमल काटनमा रोक लगाएको थियो । धेरै ठूलो र पुरानो रूख स्थानीयवासीको घर छेउमा भएकाले यसको जोखिम थियो । उनीहरुको मागअनुसार भाँचिन लागेका पुराना सिमलका रूख मात्र काट्न लागेको जिल्ला वन अधिकृत तीर्थराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला वन कार्यालयले सामुदायिक वन विकाससहित पाँचवटा कार्यक्रममार्फत सञ्चालन गरेको कार्यक्रमको समीक्षा गर्दै बैठकमा गत वर्ष दुई नयाँ सामुदायिक वन गठन भएको, १६ वटा सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना पुनरवलोकन, वन व्यवस्थापनसम्बन्धी स्थलगत अभ्यास १२ वटै इलाका वन कार्यालयअन्तर्गतका सामुदायिक वनमा गरिएको जानकारी गराएको थियो ।

सहायक वन अधिकृत सुनिल सिंहले चुरे क्षेत्रका सामुदायिक वनलाई संरक्षणमुखी कार्ययोजना परिमार्जन गरी नमुना वन व्यवस्थापनस्थल स्थापना र सामुदायिक वनभित्र कबुलियती वन समूहसमेत गठन गरिएको बताउनुभयो ।

प्रतिक्रिया