फूलबारी गाउँ कटानको जोखिममा

इनेप्लिज २०७२ असार २९ गते ४:१४ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २९ असार । म्याग्दीको ओखरबोट गाविस–१ स्थित फूलबारी गाउँ रितुङ खोलाको कटानका कारण जोखिममा परेको छ ।

खोलामा बर्खायाममा आउने बाढीले बर्सेनि किनारमा रहेका खेतीयोग्य जमिन कटान गर्दै गएपछि बस्तीनै जोखिममा परेको हो । खोलाले निरन्तर बस्तीतर्फ कटान गर्दै गएकाले फूलबारीको ५० घरधुरी जोखिममा परेको स्थानीय पुरुषोत्तम प्राविका शिक्षक चूडामणि सापकोटाले बताउनुभयो ।

“खोलाको कटान रोकथामका लागि दिगो काम हुन सकेको छैन” सापकोटाले भन्नुभयो “किनारको खेत कटान गरी खोला बस्तीको नजिकै आइपुगेकाले जोखिम बढेको हो ।” नदी कटान नियन्त्रण गरेर बस्ती संरक्षणका लागि रेडक्रस, भूसंरक्षण कार्यालय र जिविसको सहयोगमा तटबन्ध गरिए पनि बाढीले बगाएर लैजाने गरेको छ ।

माथिल्लो क्षेत्रमा अव्यवस्थित रुपमा खनिएको ग्रामीण सडकका कारण पहिरो गई खोलामा बाढीको आयतन र सतह बढेर आउँदा कटानको समस्या देखिएको जिल्ला भूसंरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

फूलबारी गाउँ संरक्षणका लागि यस वर्ष जिल्ला भूसंरक्षण कार्यालयको २७ थान ग्याबिन र जिविसको रु ३३ हजार सहयोगमा स्थानीयवासीले तटबन्ध गरेका छन् ।

प्रतिक्रिया