आरक्ष विस्थापित शिविरमा खानेपानीको चर्को अभाव
कञ्चनपुर, २९ असार । कञ्चनपुरको देखतभूली गाविस–१ ढक्कामा सात वर्षदेखि बस्दै आएका आरक्ष विस्थापित परिवारलाई खानेपानीको चर्को अभाव भएको छ ।
छ सयभन्दा बढी परिवार बस्दै आएको शिविरमा चार वटा नल्काबाट पानी थाप्नुपर्ने अवस्था रहेको छ । शिविर नजिक पानीको अन्य स्रोत नहुँदा नल्कामा पाँच घन्टासम्म लाइन लागेर पानी थाप्नुपर्ने समस्या रहेको तेजबहादुर चन्दले बताउनुभयो ।
शिविरका सबै परिवारले साँझ बिहानको छाँक टार्नका लागि मजदुरी गर्नुपर्ने भएकाले आर्थिक अभावले नल्का राख्न नसकेको उहाँले बताउनुभयो ।
नल्का गाडनका लागि रु चार हजारदेखि १० हजारसम्म लाग्ने गर्दछ प्रेम बोहराले भन्नुभयो, “मजदुरी गरेर दैनिक रु २०० सम्म मात्रै कमाइ हुने भएकाले नल्का राख्न सकेका छैनौँ ।” नुहाउन र वस्तुभाउलाई पानी खुवाउन नल्काको अभावमा रातिका बेलासमेत पालो पर्खनुपर्ने अवस्था रहेको विस्थापित परिवारको भनाइ छ ।
पानीको अभावमा व्यक्तिगत सरसफाइ राम्ररी गर्न नपाउँदा अधिकांशमा पानीजन्य र छालाजन्य रोगको सङ्क्रमणसमेत बढ्दै गएको शिविरका बासिन्दाले बताएका छन् ।
बालबालिका र बूढापाका यसबाट बढी प्रभावित भएका छन् । शिविर नजिकैको खोलामा वस्तुभाउलाई पानी खुवाउन लगे शुक्लाफाँटा वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाका जवानले गोरुलाई काञ्जिहाउसमा लगेर थुन्ने जरिवाना तिराउने भएकाले झनै समस्या खेप्नुपरेको भक्तबहादुर महराले दुखेसो पोख्नुभयो ।
आरक्षको खाली ठाउँमा बस्दै आए पनि आरक्षबाट सड्न लागेको दाउरासमेत सङ्कलन नपाउँदा गुइँठामा खाना पकाउनु परिरहेको उहाँले बताउनुभयो ।
विसं २०५८ मा शुक्लाफाँटा आरक्षको विस्तारित क्षेत्रबाट करिब ६०० परिवारलाई विस्थापित गरिएको थियो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया