थोराङ भन्ज्याङको सफाइ

इनेप्लिज २०७२ असार २७ गते ३:२२ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, २७ असार । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत सबैभन्दा उच्च स्थानमा पर्ने थोराङ भन्ज्याङ क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाइएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय पर्यटन व्यावसायी टोलीले दुई दिनसम्म उक्त क्षेत्रमा सरसफाइ गरेका हुन् । नेपाली सेनाका १०७ र नेपाल प्रहरीका तीनसहित स्थानीयवासी फोहर हटाउने काममा सहभागी थिए । समुद्री सतहदेखि पाँच हजार ४०० मिको उचाइमा अवस्थित थोराङ भन्ज्याङबाट मुस्ताङ र मनाङ जिल्ला पनि छुट्टिन्छ ।

अग्लो स्थान भएकाले त्यहाँ पुगेर आराम गर्ने भरियाले फ्याँक्ने विभिन्न किसिमका फोहरका कारण प्रदूषण बढ्दै गएकाले सरसफाइ गरिएको एक्याप मुक्तिनाथ चेकपोस्टका इन्चार्ज याङ्दुङ गुरुङले जानकारी दिनुभयो । दुई हप्ता लाग्ने सो पदमार्गमा आउने अधिकांश पदयात्रीको चाहना थोराङ भन्ज्याङ पार गर्नुहुन्छ । सरसफाइका क्रममा लत्ताकपडा, प्लास्टिकजन्य पदार्थ, पानीका बोतल, टिन र पालका टुक्रा बढी भेटिएका छन् ।

ती क्षेत्रमा सङ्कलन गरिएका फोहरलाई मुक्तिनाथ क्षेत्रमा रहेको डम्पिङ साइटमा जलाइएको एक्यापले जनाएको छ । गत असोज अन्तिम साता हुदहुद आँधीका कारण ज्यान गुमाएका पर्यटकको झोला, लत्ताकपडा र अन्य गम्भीर घाइते भएकाको सामान पनि त्यही क्षेत्रमा रहेका कारण फोहर बढी भएको इञ्चार्ज गुरुङले जानकारी दिनुभयो ।

“आपत्कालीन अवस्था र नयाँ गाइड आउँदा फोहर अलि बढी हुन्छ, धेरै वर्षपछि फोहर सफा गरेकाले निकै धेरै फोहर निस्केको थियो”, उहाँले भन्नुभयो, “मनाङ खण्डमा भने त्यतातिरकै सरोकारवाला निकायले गर्छ ।”

प्रतिक्रिया