खानीडाँडा विमानस्थलमा हप्तामा छ दिन उडान

इनेप्लिज २०७२ असार २६ गते १५:५९ मा प्रकाशित

खोटाङ, २६ असार । कालोपत्रे गरिएसँगै खोटाङको खानीडाँडा विमानस्थलमा हप्तामा छ दिन उडान हुन थालेको छ ।

केही समयअघि कालोपत्रे गरिएको खानीडाँडामा नेपाल एयरलाइन्स, तारा र सिम्रिक एयरका जहाजले हप्तामा छ दिन उडान भर्न थालेका हुन् ।

जिल्लाका तीनवटा विमानस्थलमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिकरहेको खानीडाँडा विमानस्थलको ५९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएपछि हप्तामा शुक्रबारबाहेक सबै दिन उडान सुरु भएको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार नेपाल एयरलाइन्सले बुधबार र आइतबार काठमाडौँ र बुधबार र शनिबार विराटनगरका लागि उडान सुरु गरेको छ ।

तारा एयरलाइन्सले हरेक मङ्गलबार र शनिबार तथा सिम्रिक एयरले सोमबार र बिहीबार उडान भर्ने तालिका सार्वजनिक गरेकोे जनाइएको छ । खोटाङबासीको पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा अन्य एयरलाइन्सले समेत उडान भर्ने तयारी गरेको अध्यक्ष घिमिरेको भनाइ छ ।

विमानस्थलमा नियमित उडान हुनेभएपछि जिल्लावासी हर्षित बनेका छन् । सदरमुकामबाट नजिक भएपनि कालोपत्रे नहुँदा खानीडाँडामा यसअघि हरेक वर्षको वर्षायामभर उडान बन्द हुने गरेको थियो ।

प्रतिक्रिया