कोसी अञ्चल अस्पतालमा औषधिको अभाव

इनेप्लिज २०७२ असार २५ गते ४:२९ मा प्रकाशित

timthumb.phpपथरी (मोरङ) २५ असार । औषधि सकिएको झन्डै एक वर्ष बित्न लाग्दासमेत कोसी अञ्चल अस्पताल विराटनगरको मेडिकल स्टोरमा औषधिको अभाव कायमै छ ।

आर्थिक अभावका कारण आव २०७१÷०७२ देखि कोसी अञ्चल अस्पताल विराटनगरको मेडिकल स्टोरमा औषधि आयात हुन नसकेपछि औषधिको अभाव भएको हो ।

सामाजिक सेवा इकाईमार्फत विपन्न, गरिब, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम वृद्धवृद्धालाई निःशुल्क औषधि वितरण गर्दै आएको थियो । तर २०७१ साल साउनदेखि नै सरकारले निःशुल्क औषधि वितरणका लागि बजेट नपठाउँदा विपन्न समुदायले निःशुल्क औषधि पाउन सकेका छैनन् ।

अस्पतालमा औषधि नहुनुमा अस्पताल प्रशासन दोषी नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार २०७० असारमा असहाय कोषका लागि बजेट पठाएको थियो । तीन वर्षपहिला देखि नै सरकारको निर्णयअनुसार क्षेत्रीय रुपमा विराटनगरलगायत पाँच स्थानलाई क्षेत्रीय सामाजिक सेवा इकाईमार्फत औषधि वितरण गर्ने निर्णय भएको थियो । तर एक वर्ष मात्र आवश्यक रकम दिएकामा अहिलेसम्म चाहिने रकम प्राप्त हुन सकेको छैन । जसका कारण आर्थिक अवस्था कमजोर भएका गरिब, दलित, असहाय, ज्येष्ठ नागरिक निःशुल्क औषधि पाउनबाट वञ्चित रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार २०७० सालमा करिब एक करोड ४० लाख जति बजेट असहाय कोषका लागि दिएको थियो । सो रकमले औषधि खरिद गरेर असहायलाई औषधि वितरण गरिएको थियो । त्यसमा रकम अपुग हुँदा अस्पतालले ऋणमा औषधि खरिद गरेको थियो त्यसको रकमसमेत झन्डै ६० लाख अझै तिर्न बाँकी रहेको अस्पताल प्रशासनको भनाइ छ । अघिल्लो आर्थिक वर्षदेखि असहाय कोषका लागि भनेर कुनै बजेट नआएको कारण निःशुल्क औषधि दिन सक्ने अवस्था नरहेको कोसी अञ्चल अस्पतालका लेखा प्रमुख विजयहरि शर्माको भनाइ छ ।

अस्पतालमा पूर्वाञ्चलका विभिन्न जिल्लाका सर्वसाधारण उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया