कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा चुनौती

इनेप्लिज २०७२ असार २४ गते ३:२१ मा प्रकाशित

jail-650x250कञ्चनपुर, २४ असार । कारागार शाखा कञ्चनपुरमा क्षमता भन्दा दोब्बर कैदीबन्दी थपिएपछि व्यवस्थापन गर्न अप्ठेरो परेको छ ।

कारागारको क्षमता ७५ जना कैदीबन्दी राख्ने भए पनि कारागारमा १९३ जना कैदीबन्दीलाई राखिएको छ । कारागारमा आठ महिला र १८५ पुरुष कैदीबन्दी रहेका छन् ।

कैदीबन्दीको सङ्ख्यामा दोब्बरभन्दा बढी भएपछि व्यवस्थापनको कार्य गर्न निकै अप्ठेरो परेको कारागार शाखाका प्रमुख खगेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

क्षमताअनुसारका कैदीबन्दीका लागि पुग्ने गरी मात्रै शौचालय र खानेपानीका धाराको व्यवस्था मिलाइएको छ उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी कैदीबन्दी थपिँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।”

शौचालय जान र धारामा पानी थाप्नका लागि कैदीबन्दीले लाइन बस्नुपर्ने अवस्था रहेको छ । “कैदीबन्दीको सङ्ख्या अधिक हुँदा सुत्नका लागि ठाउँ नपुग्दा टिन सेट राखेर व्यवस्था गरिएको छ त्यसमा समेत नपुगेर केहीलाई बाटोमै सुत्नका लागि ठाउँ उपलब्ध गराएका छाँै” भट्टले भन्नुभयो ।

कारागार गृह धेरै पुरानो हँुदा मर्मत सम्भार नहँुदा स्ल्याब खस्ने क्रम जारी रहेकाले कारागार गृहनै भत्किएर दुर्घटना निम्तिने खतरासमेत रहेको कारागारका कर्मचारीले बताएका छन् ।

कारागारका लागि मर्मत बजेट नहुँदा जीर्ण अवस्थामा रहेको कारागारको रङ्गरोगन, शौचालय, तारबारको मर्मत कार्यसमेत वर्षौंदेखि हुन सकेको छैन । वर्षौं पहिले बनेको कारागारको पर्खालमा लगाइएका इँटासमेत खिएर झर्न थालेका छन् ।

कारागारका भौतिक संरचना निर्माण विसं २०२३ मा गरिएका थिए ।

प्रतिक्रिया