गरगहना चोरी गर्ने गिरोह पक्राउ

इनेप्लिज २०७२ असार २३ गते १५:२८ मा प्रकाशित

pakraauलुम्बिनी (रुपन्देही), २३ असार । पछिल्लो समय चोरीका घटनामा १८ वर्षभन्दा मुनिको समूह सक्रिय रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

यही असार २१ गते सिद्धार्थ नगरपालिकास्थित निधानचन्द्र श्रेष्ठको घरमा चोरी गर्ने समूहलाई आज सार्वजनिक गर्दै रुपन्देही प्रहरीले सो खुलासा गरेको हो ।

असार २१ गते दिउँसो घरमा कोही नभएको मौका पारी ताला फोरेर आठ तोला सुनका गरगहना चोरी फरार रहेका रुपन्देही कोटिहवाका १८ वर्षीय राकेश सामद, १७ वर्षीय रविन चापा, १४ वर्षीय आश्रय श्रेष्ठ र पडसरीका १८ वर्षीय विजय थापालाई रुपन्देही प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

घटनाको मुख्य योजनाकार आश्रय श्रेष्ठ पीडितको नातेदार रहेको र यसअघि पनि सात पटकसम्म चोरी गरेको प्रहरीले सोधपुछ गर्दा बताएको प्रहरी नायब उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

परिवारमा छोराछोरीलाई छाडा छोडिदिने प्रवृत्ति र विद्यालयले पनि आफ्ना विद्यार्थीको गतिविधिमा कडाइ गर्न नसक्नाले उनीहरू चोरी, लागुऔषध सेवनलगायत अनैतिक कार्यमा लाग्ने गरेको प्रमुख ढकालको भनाइ छ ।

प्रतिक्रिया