बायोग्यासले महिलाको स्वास्थ्यमा फाइदा

इनेप्लिज २०७२ असार २३ गते ११:३९ मा प्रकाशित

biogasnepal05a-300x196इलाम, २३ असार । इलाम शान्तिडाँडा– ८ की बेदमाया बस्नेतलाई घरमा गोबरग्यास (बायो ग्यास) जडान भएपछि दाउराको जोहो गर्ने बाध्यता हटेको छ । घरमा गोबरग्यास जडान गरेसँगै बस्नेतलाई बारीको काम गर्दै खाना पकाउन पनि सजिलो भएको हो ।

गोबरग्यासले चारजनाको परिवारलाई चिया खाजा र बिहान बेलुकाको खाना पकाउन चुलोमा आगो बालिरहनुपर्ने झन्झटबाट मुक्ति मिलेको उनको अनुभव छ । गोबरग्यासबाट इन्धनको खपत हुने तथा स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएपछि यतिबेला इलामका ग्रामीण क्षेत्रमा गोबरग्यासका प्रयोग कर्ता बढेका छन् ।

बस्नेत जस्तै अर्की गृहिणी अम्बिका कटुवाल पनि यतिबेला गोबरग्यासमै खाना पकाउँछिन् । उनले सात जनाको परिवारलाई पानी तताउन, खाना पकाउन र आउने जाने पाहुनालाई चिया पकाउनसमेत गोबरग्यासकै प्रयोग गर्छिन् । उनलाई पनि खाना पकाउन र चिया पकाउन दाउरा प्रयोग गर्नुपर्ने बाध्यता हटेको हो । सधैँभरि धुवाँ धुलोमा रुमलिने ग्रामीण क्षेत्रका महिला गोबरग्यासको प्रयोगबाट सफा सुग्घर, सरसफाइ, समयको बचत तथा स्वास्थ्यलाई फाइदा मिल्ने मिलेको गृहिणीहरु बताउँछन् ।

यता जिल्लामा चार वर्षदेखि विभिन्न कम्पनीले अनुदानमा बायोग्यास जडान गर्न थालेको छ । विभिन्न दातृ संस्था तथा नेपाल सरकारको सहयोगमा पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा पछिल्लो समय गोबरग्यासका प्रयोगकर्ता बढेका छन् ।

उक्त चार वर्षे कार्यक्रमअनुसार, सरकारले उनीहरुलाई रु ३० हजार अनुदान दिन थालेपछि सहर क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म यसको प्रयोगकर्ता बढेका हुन् । एनआएर डिपी कार्यक्रमअन्तर्गत पूर्वाञ्चलका विभिन्न १५ वटा कम्पनीमार्फत बायोग्यास जडानका कार्य भइरहेको कञ्चनजङ्घा बायोग्यास तथा ऊर्जा विकास कम्पनी इलामका महाप्रबन्धक श्याम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, लक्षित वर्गभित्रका दलित, आदिवासी जनजाति, एकल महिलालगायतलाई रु ३० हजार अनुदानमा तीन÷तीन हजार थप अनुदान दिइरहेको छ । अनुदान दिन थालेपछि उनीहरु त्यसतर्फ आकर्षित भएका हुन् । कञ्चनजङ्घा कम्पनीमार्फत जिल्ला भित्रमा ५५० परिवारले बायोग्यास जडान गरिसकेका उहाँले बताउनुभयो ।

बायोग्यास प्रयोग गर्ने धेरैजसो मध्यम वर्गका परिवारका रहेका छन् । बायोग्यास जडान गर्दा भौगोलिक भूभाग हेरेर जम्मा रु ५० देखि ६० हजारसम्म खर्च लाग्ने खनालले बताउनुुभयो । बायोग्यास जडान गर्दा चार वर्षे ग्यारेन्टीसहित कम्पनीबाट दक्ष प्राविधिक र उपकरण पठाइने उहाँले बताउनुभयो । हाल कञ्चनजङ्घा कम्पनीमार्फत जिल्लाको शान्तिडाँडा, मङ्गलबारे, सुम्बेक, सुलुबुङ, बरबोटे, सोयाङ, नामासालिङ, प्याङ, इलाम नगरपालिकालगायत सबै गाविसमा बायोग्यास जडान कार्य भइरहेको छ ।

बजारमा खाना पकाउने ग्यासको मूल्य दैनिक रुपमा बढ्न थालेपछि सहरी क्षेत्रका कतिपय उपभोक्ताले गोबरग्यासकै प्रयोग गर्न थालेका छन् । रासस

प्रतिक्रिया