विद्युत् अनियमितताले चिया उद्योग सङ्कटमा

इनेप्लिज २०७२ असार २३ गते ११:३८ मा प्रकाशित

ilam-tea-farmingइलाम, २३ असार । बर्खायाम सुरु भएयता दैनिकजसो भइरहने विद्युत् अनियमितताका कारण यहाँका चिया उद्योग सङ्कटमा पर्दै गएका छन् ।

एक महिनादेखि लगातार भइरहेको विद्युत् अवरोधका कारण साना, मझौला र ठूला चिया उद्योगको प्रशोधनमा असर परेको उद्योग सञ्चालकले गुनासो गरेका छन् । माईपूर्व र पश्चिममा रहेका चिया कारखानाले पटक–पटकको विद्युत् अवरोधका कारण कारखाना सञ्चालनमा समस्या भएको गुनासो गरेका हुन् ।

“हरियोपत्ती उत्पादन र प्रशोधन हुने मुख्य याममै विद्युत् अनियमितता समस्या उत्पन्न भएको छ”, फाकफोस्थित तीनजुरे अग्र्यानिक चिया प्रशोधन काराखानाका व्यवस्थापक पदम तामाङले भन्नुभयो, “बारम्वार विद्युत् अवरोध भइरहेकाले कारखानाको क्षमताअनुसार पत्ती प्रशोधन गर्न नसकेर घटाउनुपरेको छ ।” दैनिक चार सय किलोग्राम हरियोपत्ती प्रशोधन गर्ने क्षमता भएको यस कारखानाले विद्युत् अवरोधका कारण डेढ सय किलोग्राम मात्र पत्ती प्रशोधन गर्न सुरु गरेको छ । विद्युत् अवरोधकै कारण दैनिक चल्ने कारखाना अहिले हप्तामा दुईपटक मात्र चल्ने गरेको व्यवस्थापक तामाङले जानकारी दिनुभयो । चिया प्रशोधनको समयमा बिजुली जानाले क्षमताअनुसार पत्ती प्रशोधन नहुने र प्रशोधित चियासमेत गुणस्तरीय नहुने तामाङको भनाइ छ ।

साँखेजुङस्थित हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रालि, हिलरेञ्ज चिया प्रशोधन उद्योग, ग्रिनहिल अर्थाेडक्स चिया प्रशोधन उद्योग, पाथीभरा अर्थाेडक्स चिया उद्योग, गजुरमुखी अर्थाेडक्स चिया उद्योग, कञ्चनजङ्घा अग्र्यानिक चिया उद्योग, फाकफोकस्थित तीनजुरे अग्र्यानिक चिया प्रशोधन कारखाना, माईपोखरीस्थित माइटी कम्पनी प्रालिका सञ्चालकले विद्युत् अवरोध हटाउन र चिया कारखानामा विद्युत् नियमित सञ्चालन गराउन माग राख्दै प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, नेपाल विद्युत् प्राधिकरण इलाम शाखामा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

प्रजिअ कार्कीलाई ज्ञापनपत्र बुझाउँदै नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाई दिनका आग्रह गरेका छन् । नियमित विद्युत् आपूर्ति नहुँदा कारखाना ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परिरहेको जानकारी गराएका छन् । विद्युत् नभएका कारण पूर्वका गोर्खा टिस्टेट, इलाम टी प्रोड्युसर्स प्रालि, ग्रिन टी प्रालिलगायत ठूला उद्योगसमेत समस्यामा परेका छन् ।

विद्युत् आपूर्ति सहज नहुँदा कारखानाले किसानबाट थोरै मात्र पत्ती खरिद गर्न थालेका छन् । साँखेजुङस्थित कञ्चनजङ्घा अग्र्यानिक चिया उद्योगका सञ्चालक मिलन खत्रीले विद्युत् नहुँदा कारखाना नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । “चिया प्रशोधन गरौँभन्दा विद्युत् नहुने र अन्य वैकल्पिक व्यवस्थाका लागि धेरै खर्च चाहिने हुन्छ”, उहाँले भन्नुभयो, “विद्युत् आपूर्ति नहुँदा कारखाना बन्द हुने अवस्थामा पुगेको छ ।”

विद्युत् नियमित नहुँदा लाखौँ खर्च गरेर स्थापना गरिएका जिल्लाका चिया उद्योग नै सङ्कटमा परेका हुन् । यो याममा हरियोपत्तीसमेत धेरै उत्पादन हुने र गुणस्तरीय हुने भए पनि कारखानामा हुने विद्युत् अवरोधका कारणले कारखानाले किसानको जति पत्ती खरिद गरेका छैनन् । यसले उद्योग र कृषक दुवैलाई घाटा भएको छ ।

नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका प्रमुख सीताराम सिग्देलले बर्खायामपछि आएको हावाहुरी र बाढीपहिरोले ३३ केभी प्रसारण लाइन अवरुद्ध भइरहने समस्याले चिया उद्योगलगायत धेरै क्षेत्रमा असर परेको बताउनुभयो । दरबन्दी अभावको कारण देखाउँदै प्राधिकरणले चट्याङ, बाढीपहिरोले विद्युत् पोल ढल्ने गरेकाले समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ छ । यहाँ ९५ जनाको दरबन्दी रहेपनि हाल ५१ जना मात्र कार्यरत छन् । प्राधिकरणले अहिले मुख्यतया इलाम बजारमा मात्र विद्युत् दिएको र ग्रामीण बस्ती अन्धकार बनाएको उपभोक्ताको आरोप छ ।

प्रतिक्रिया