शुक्लाफाँटा वन्यजन्तु आरक्षमा च्याउ सङ्कलनमा रोक

इनेप्लिज २०७२ असार २३ गते ४:३३ मा प्रकाशित

musrumकञ्चनपुर, २३ असार । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय मझगाउँ कञ्चनपुरले आरक्ष क्षेत्रमा च्याउ सङ्कलनमा रोक लगाएको छ ।

आरक्ष क्षेत्रमा जथाभावीरुपमा छिरेर जैविक विविधता माथि खलल पुर्‍याउने कार्य हुन थालेपछि च्याउ सङ्कलनमा रोक लगाएको हो ।

आरक्षका विभिन्न क्षेत्रमा च्याउकै लागि आगजनी हुने तथ्य फेला परेपछि आरक्ष कार्यालयले च्याउ सङ्कलन गर्ने माथि निगरानी बढाएको छ ।

आरक्ष क्षेत्रमा च्याउ उमार्नकै लागि आगजनी गरिने र सङ्कलन गरिएको च्याउ भारतीय क्षेत्रमा निर्यात हुने गरेको पाइए पछि च्याउ सङ्कलनमा रोक लगाएका छौँ आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो ।

च्याउ अवैधरुपमा भारत निर्यात हुने नाकामा निगरानी राख्नका लागि वन सुरक्षाकर्मीलाई खटाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार दुई दिनअघि मात्रै भारततर्फ लग्दै गरेको एक बोरा च्याउ दोधारा चाँदनी नगरपालिकाको झोलुङ्गे पुल क्षेत्रबाट बरामद गरिएको छ ।

च्याउको अवैध कारोबारमा संलग्न भने च्याउको बोरा र साइकल छाडेर भगेको अधिकृत ढकालले बताउनुभयो । च्याउ सङ्कलन गर्ने माथि कडाइ गरिएपछि च्याउ सङ्कलन गर्ने कार्यमा केही कमी आए पनि पूरै नियन्त्रणमा भने आउन सकेको छैन ।

अवैधरुपमा आरक्ष क्षेत्रमा पसेर च्याउ सङ्कलन गरेको पाइए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने उहाँले बताउनुभयो ।

जसअनुसार आरक्ष क्षेत्रमा अवैधरुपमा च्याउ सङ्कलन गरिएको पाइए दुई वर्ष कैद वा रु १० हजार जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया